Tuesday 13th of October | २०८३ असोज २७ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

रुसी डिजेल निर्यातले मूल्य घटाउनेमा ईयूका अर्थ प्रमुख सशङ्कित

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज २७ मंगलबार | (रासस/एएफपी)

युरोपेली सङ्घ (ईयू)का अर्थ मामिला प्रमुख भल्डिस डोम्ब्रोभ्स्किसले अमेरिकाले रुसी डिजेल निर्यातलाई अनुमति दिए पनि त्यसले विश्व बजारमा इन्धनको मूल्य घटाउन खासै प्रभाव नपार्ने बताउनुभएको छ । इरान युद्ध सुरु भएयता इन्धनको मूल्य उल्लेख्य रूपमा बढेको छ ।

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको कुराकानीपछि रुसले विश्व बजारमा ठूलो परिमाणमा डिजेल उपलब्ध गराउने घोषणा गर्नुभएको थियो ।  फेब्रुअरी २८ मा इरानविरुद्ध युद्ध सुरु भएपछि बढेको इन्धनको मूल्य नियन्त्रण गर्ने उद्देश्यले यो कदम चालिएको हो ।

    थाइल्याण्डको बैंककमा जारी अन्तरराष्ट्रिय मुद्रा कोष (आईएमएफ) र विश्व बैंकको वार्षिक बैठकका क्रममा एएफपीसँग कुरा गर्दै डोम्ब्रोभ्स्किसले रुसी डिजेल निर्यातको सम्भावित प्रभावप्रति शङ्का व्यक्त गर्नुभयो । उहाँका अनुसार प्रस्तावित निर्यातको परिमाण विश्व अर्थतन्त्रमा उल्लेखनीय प्रभाव पार्ने स्तरको छैन । साथै, रुसले आवश्यक परिमाणमा डिजेल आपूर्ति गर्न सक्ने र त्यसले अमेरिकी गुणस्तर मापदण्ड पूरा गर्ने विषयमा पनि प्रश्न रहेको उहाँले बताउनुभयो । 

    डोम्ब्रोभ्स्किसले युक्रेनलाई आर्थिक सहयोग बढाउन ईयूले अन्तरराष्ट्रिय साझेदारसँग छलफल गर्ने जानकारी दिनुभयो ।

    यसैबीच, उहाँले ईयू र चीनबीचको व्यापार असन्तुलनप्रति चिन्ता व्यक्त गर्नुभयो । गत वर्ष चीनसँगको ईयूको व्यापार घाटा करिब ३६० अर्ब युरो पुगेको उल्लेख गर्दै उहाँले व्यापार सम्बन्धलाई सन्तुलित बनाउनुपर्ने बताउनुभयो । व्यापार तनाव कम गर्ने सहमतिअन्तर्गत सन् २०२७ देखि चीनबाट आयात हुने हाइब्रिड सवारीसाधनको वार्षिक सङ्ख्या तीन लाख ५० हजारमा सीमित गरिने जनाइएको छ ।

    फ्रान्समा सरकारी ऋणपत्रको प्रतिफल बढिरहेको विषयमा पनि उहाँले चिन्ता व्यक्त गर्नुभयो । बजेटसम्बन्धी अनिश्चितता हटाउन फ्रान्सले प्रस्तावित बजेट पारित गर्नु महत्वपूर्ण रहेको उहाँको भनाइ छ ।

    डोम्ब्रोभ्स्किसका अनुसार मध्यपूर्वमा जारी द्वन्द्वका कारण मुद्रास्फीतिको दबाब लामो समयसम्म कायम रहन सक्छ । त्यसैले युरोपेली आयोगले सन् २०२७का लागि मुद्रास्फीति पूर्वानुमान बढाउने सम्भावना रहेको उहाँले बताउनुभयो ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan