फिलिपिन्सको स्वशासित मुस्लिम क्षेत्रको नेतृत्वमा पूर्व विद्रोही नेता माकाकुआ निर्वाचित
किशोरावस्थामा फिलिपिन्सका राष्ट्रपति फर्डिनाण्ड मार्कोसका बाबुसँग लडेका एक पूर्व मुस्लिम विद्रोही नेता अब्दुलराउफ माकाकुआ शुक्रबार दक्षिणी स्वशासित क्षेत्रको मुख्यमन्त्री निर्वाचित हुनुभएको छ ।
यो क्षेत्र दशकौँको सशस्त्र द्वन्द्वपछि गठन भएको थियो । यो कुल ८० सदस्यीय बङ्गसामोरो स्वायत्त क्षेत्र मुस्लिम मिन्डानाओ (बारएमएम) सभाबाट ५१ मतले निर्वाचित गरिएको हो । यो निर्वाचन क्षेत्रीय चुनावलगत्तै भएको हो, जसमा उहाँको दलले अहिलेसम्म ४१ सिटको बहुमत जित्न सकेको थिएन ।
उहाँका मुख्य प्रतिद्वन्द्वी तथा मोरो इस्लामिक लिबरेसन फ्रन्ट (एमआईएलएफ) गुरिल्ला समूहका पूर्व प्रमुख मुराद इब्राहिमले २७ मत पाउनुभएको थियो ।
मार्कोसका बाबुले सन् १९७० को दशकको सुरुवातमा फिलिपिन्सको दक्षिणमा भएको मुस्लिम विद्रोहविरुद्ध लड्नुभएको थियो ।
संसद्को उद्घाटन समारोहका उहाँ नै मुख्य अतिथि हुनुहुन्थ्यो ।
मार्कोसले सभालाई दिएको सम्बोधनमा भन्नुभयो, “शासन गर्ने अधिकार जित्नु ठूलो उपलब्धि थियो। पहिलो बङ्गसामोरो संसदीय निर्वाचन सफलतापूर्वक सम्पन्न हुनु अर्को ऐतिहासिक कदम थियो । अब कठिन भाग आउँछ।”
क्षेत्रीय सरकारको भूमिका स्थिर सरकार निर्माण गर्नु हो जसले ‘प्रत्येक बङ्गसामोरो परिवारको दैनिक जीवनमा शान्तिको लाभ महसुस होस्’ भन्ने कामना उहाँले गर्नुभयो ।
माकाकुआलाई चुनावअघि क्षेत्रका अन्तरिम प्रमुख कार्यकारीको रूपमा मार्कोसले नै चयन गर्नुभएको थियो । यो कदम एमआईएलएफका वरिष्ठ नेतृत्वको आपत्तिविरुद्ध लिइएको थियो । एक समयका हात मिलाएर लड्ने साथी माकाकुआ र इब्राहिम त्यसपछि छुट्टिनुभएको थियो । यसले सेप्टेम्बरको मतदानमा प्रतिस्पर्धाको आधार तयार पारेको थियो ।
बारएमएम अझै देशको सबैभन्दा गरिब क्षेत्र हो र आधिकारिक सर्वेक्षणअनुसार साक्षरता दर पनि सबैभन्दा कम छ । यसको सरकार अझै पनि फिलिपिन्स सरकारबाट भारी नगद हस्तान्तरणमा निर्भर रहनेछ । यसका लागि प्रस्तावित सन् २०२७ को राष्ट्रिय बजेटमा ११५ अर्ब पेसो (१.८ अर्ब डलर) भन्दा बढी तोकिएको छ ।

