Saturday 14th of November | २०८३ कार्तिक २८ शनिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

सम्पदा चोरी नियन्त्रण र हराएका वस्तु फिर्ता ल्याउन कामपाको पहल

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक २८ शनिबार | रासस

काठमाडौँ, २८ कात्तिकः काठमाडौँ महानगरपालिकाले सांस्कृतिक सम्पदाको चोरी, क्षति तथा अवैध ओसारपसार नियन्त्रण गरी हराएका प्राचीन वस्तु फिर्ता ल्याउन नमुना फाउन्डेसनसँग सहकार्य थालेको छ ।

    सम्पदाको पहिचान, अभिलेखीकरण, संरक्षण तथा चोरी भएका वस्तुको पुनःप्राप्तिका लागि महानगरपालिकाले फाउन्डेसनसँग समझदारी गरेको हो ।

    महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गोलले समुदायको क्षमता विकास र चेतना अभिवृद्धिमार्फत काठमाडौँको सांस्कृतिक पहिचान जोगाउने उद्देश्यले सहभागितामूलक कार्यक्रम अघि बढाइएको बताउनुभयो ।

    समझदारीअनुसार महानगर क्षेत्रभित्रका सांस्कृतिक, ऐतिहासिक तथा पुरातात्विक सम्पदाको संरक्षण, जीर्णोद्धार, मर्मतसम्भार, अभिलेखीकरण र सुरक्षा प्रवद्र्धनका काम गरिनेछ । सम्पदा क्षेत्रका मूर्ति, कलाकृति तथा अन्य प्राचीन वस्तुको चोरी र अवैध ओसारपसार रोक्नुका साथै हराएका वस्तुको पहिचान र पुनःप्राप्तिका लागि पहल गरिनेछ ।

    कार्यवाहक प्रमुख डङ्गोलले यसअघि विभिन्न निकायबाट छरिएर भइरहेका सम्पदा संरक्षणका कामलाई एकीकृत गरी महानगरपालिकाको नेतृत्वमा अघि बढाउन समझदारी गरिएको बताउनुभयो । उहाँले जनप्रतिनिधि, कर्मचारी, सम्पदा क्षेत्रमा कार्यरत जनशक्ति र समुदायलाई सम्पदाको पहिचान तथा संरक्षणप्रति सचेत बनाउने कार्यक्रम सञ्चालन गरिने जानकारी दिनुभयो ।

    महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्यालले समझदारीपछि सहभागितामूलक कार्यक्रम सञ्चालनका लागि संस्थागत तथा कानुनी आधार तयार भएको बताउनुभयो ।

    सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान सङ्गतले काठमाडौँलाई खुला सङ्ग्राहालयका रूपमा चिनाउने ऐतिहासिक सम्पदाको पहिचान र संरक्षणमा महानगरपालिकाले नेतृत्व लिनुपर्ने बताउनुभयो । उहाँले सहरका गल्ली र चोकमा रहेका प्राचीन वस्तुको समेत अभिलेखीकरण आवश्यक रहेको उल्लेख गर्नुभयो ।

    नमुना फाउन्डेसनका अध्यक्ष रवीन्द्र पुरीले हराएका तथा चोरी भएका सांस्कृतिक वस्तु फिर्ता ल्याउने अभियान सन् २००३ देखि सुरु गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार पछिल्लो पाँच वर्षमा ११८ वटा मूर्ति फिर्ता ल्याइएको छ ।

    महानगरपालिकासँगको सहकार्यमा आगामी पाँच वर्षभित्र एक हजार प्राचीन वस्तु फिर्ता ल्याउने लक्ष्य राखिएको उहाँले बताउनुभयो ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan