कोप–३१ मा जलवायु वित्त र हरित विकासमा सहकार्यबारे छलफल
अन्ताल्या (टर्किए), २८ कात्तिकः कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरी र ग्लोबल ग्रिन ग्रोथ इन्स्टिच्युट (जीजीजीआई) का कार्यकारी निर्देशक सङ–ह्युप किमबीच जलवायु वित्त तथा हरित विकासका क्षेत्रमा सहकार्य विस्तारबारे छलफल भएको छ ।
टर्किएको अन्ताल्यामा जारी कोप–३१ का क्रममा आज भएको द्विपक्षीय भेटवार्तामा नेपालका प्राथमिकता र आगामी सहकार्यका सम्भावित क्षेत्रबारे छलफल भएको हो ।
भेटमा मन्त्री चौधरीले जीजीजीआई नेपालको विकास साझेदारका रूपमा जलवायुमैत्री कृषि, स्वच्छ यातायात, हरित वित्त तथा पारिस्थितिकीय प्रणालीको पुनःस्थापनामा पुर्याउँदै आएको सहयोगको प्रशंसा गर्नुभयो । उहाँले यस सहकार्यलाई थप रणनीतिक र संस्थागत बनाउनुपर्नेमा जोड दिँदै हिमाली तथा जलवायु जोखिममा रहेका मुलुकका लागि जलवायु वित्तमा पर्याप्त पहुँच र लगानी सुनिश्चित गर्न कोप–३१ महत्त्वपूर्ण अवसर भएको बताउनुभयो ।
जीजीजीआईको सहयोगमा सञ्चालित जलवायुमैत्री कृषि परियोजनाले कृषि तथा रोजगारीमा योगदान पुर्याएको उल्लेख गर्दै उहाँले जलवायुमैत्री खेती प्रणाली, मौसम मापन केन्द्र स्थापना र दिगो कृषि मूल्य शृङ्खलाको विकासमार्फत जलवायु परिवर्तनबाट प्रभावित किसानको अनुकूलन क्षमता अभिवृद्धि गर्न सहकार्य आवश्यक रहेको बताउनुभयो ।
जीजीजीआईका कार्यकारी निर्देशक किमले नेपालसँग सहकार्य विस्तार गर्न आफू सकारात्मक रहेको बताउनुभयो ।


