क्षमताभन्दा बढी सिट थपेर यात्रु बोक्ने EV माथि मकवानपुर प्रहरीको कारबाही, ४५ हजार जरिवाना
१४ सिट क्षमताका गाडीमा थप चार–चार सिट जडान, प्रहरीद्वारा सिट हटाइयो
काठमाडौं । सवारी दुर्घटना न्यूनीकरण तथा यातायात नियमको पालना गराउने अभियानअन्तर्गत मकवानपुर प्रहरीले क्षमताभन्दा बढी सिट जडान गरी सञ्चालन गरिएका तीन वटा विद्युतीय (EV) गाडी तथा कागजपत्रविनाका अन्य सवारी साधनमाथि कारबाही गरेको छ ।
मिति २०८३ मंसिर २ गते जिल्ला प्रहरी कार्यालय मकवानपुर तथा मातहतका कार्यालयबाट ट्राफिक प्रहरीसहित खटिएको टोलीले विभिन्न चेकप्वाइन्टमा सवारी साधन जाँच गर्ने क्रममा सवारी दर्ता किताबमा उल्लेखित सिट क्षमताभन्दा बढी सिट जडान गरी सञ्चालन गरिएका तीन वटा EV गाडी फेला पारेको हो ।
प्रहरीका अनुसार ती गाडीमा १४ सिटको निर्धारित क्षमतामा थप चार–चार सिट जडान गरी यात्रु बोक्ने गरेको पाइएको छ । सवारी तथा यातायात व्यवस्था ऐन, २०७५ को दफा ४३ उपदफा (१) विपरीत कार्य गरेको कसुरमा सोही ऐनको दफा १९४ उपदफा (२) (ख) बमोजिम तीन वटा गाडीलाई जनही १० हजार रुपैयाँका दरले ३० हजार रुपैयाँ जरिवाना गरिएको छ ।
त्यस्तै, कागजपत्रबिना सञ्चालन गरिएका दुई वटा सुमो तथा बोलेरो गाडीलाई ट्राफिक नियम उल्लंघन गरेको कसुरमा जनही ७ हजार ५०० रुपैयाँका दरले १५ हजार रुपैयाँ जरिवाना गरिएको प्रहरीले जनाएको छ । दुवै शीर्षकमा गरी कुल ४५ हजार रुपैयाँ जरिवाना गरिएको छ ।
कारबाहीका क्रममा क्षमताभन्दा बढी जडान गरिएका सिट स्थानीय सञ्चारकर्मीको रोहबरमा हटाइएको प्रहरीले जनाएको छ ।
यसैगरी, इलाका प्रहरी कार्यालय भीमफेदी, मकवानपुरबाट ट्राफिक प्रहरीसहित खटिएको टोलीले प्रदेश सरकारले तोकेको समय र मार्ग उल्लंघन गरी वैकल्पिक बाटो प्रयोग गर्दै हेटौंडातर्फ आएका २२ वटा EV तथा सुमो गाडीलाई समेत आवश्यक ट्राफिक कारबाही गरी छाडेको छ ।
कारबाहीमा परेका सवारी साधनमा बा.प्र.०८-००२ ज ६९४७, बा.प्र.०१-००२ ज ७८३०, म.प्र.०४-००१ ज ०१३२, ना.१ ज ६७१० र ‘अन टेस्ट’ योद्धा पिकअप गाडी रहेका छन् ।
यस्तै, थप चार–चार वटा सिट जडान गरिएका बा.प्र.०६-००२ ज ०५४६ र बा.५ ख ६०८९ नम्बरका EV गाडीलाई समेत नियन्त्रणमा लिई आवश्यक कारबाहीपछि छाडिने प्रहरीले जनाएको छ ।
सवारी साधनको निर्धारित क्षमता, कागजपत्र तथा प्रदेश सरकारले तोकेको मार्ग र समयको पालना नगरी यात्रु ओसारपसार गर्ने प्रवृत्तिमाथि प्रहरीले निगरानी बढाएको छ ।


