भारत ‘ए’ विरुद्धको खेलमा नेपालले टस जित्यो
काठमाडौँ, ४ मङ्सिरः नेपालले भारत ‘ए’ विरुद्धको एसिया कप राइजिङ स्टार्स प्रतियोगितामा टस जितेर पहिला फिल्डिङ रोजेको छ ।
कतारको दोहास्थित वेस्ट इन्ड पार्क इन्टरनेसनल क्रिकेट स्टेडियममा भर्खरै भएको टसमा नेपाली टोलीका कप्तान सन्दिप लामिछानेले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय गरेका हुन् । यससँगै भारत ‘ए’ले पहिला ब्याटिङ गर्नेछ ।
नेपालले एसीसी प्रिमियर कपको उपाधि जित्दै राइजिङ स्टार्स एसिया कपमा स्थान बनाएको हो । प्रतियोगितामा विभिन्न आठ टिमको सहभागिता रहेको छ । जसमा नेपाल समूह ‘बी’ मा रहेको छ । नेपालको समूहमा भारत ‘ए’, पाकिस्तान ‘ए’ र युएई छन् ।
त्यस्तै समूह ‘ए’मा श्रीलङ्का ‘ए’, बङ्गलादेश ‘ए’, अफगानिस्तान ‘ए’ र हङ्कङ छन् । समूह ‘बी’मा रहेको नेपालले आइतबार युएई र मङ्गलबार पाकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ ।
नेपाल प्रिमियर लिग (एनपिएल) चलिरहेका कारण रोहित पौडेल, दीपेन्द्रसिंह ऐरीजस्ता खेलाडी भने प्रतियोगितामा सहभागी छैनन् ।


