खहरेमा पुल निर्माण सुरु
सुनसरी, ५ मङ्सिर : मदन भण्डारी राजमार्गअन्तर्गत धरान उपमहानगरपालिका–८ स्थित तीनढ्वाङ्गे खहरे खोलामा पुल भत्किएको दुई वर्षपछि नयाँ पुल निर्माण कार्य सुरु भएको छ ।
त्यति लामो समयपछि अघि बढाइएको पुल निर्माण कार्यको केही राजनीतिक दल र व्यक्तिले अहिले आफ्नो पहलमा काम अघि भएको भनी श्रेय लिन हानाथाप गरेको देख्दा स्थानीय भने चकित परेको पाइएको छ । स्थानीय बुद्धमाया मगरले केही राजनीतिक दल र व्यक्ति आफ्नो पहलमा नयाँ पुल बन्न लागेको भनी प्रचार गर्नु उचित नभएको प्रतिक्रिया दिनुभयो । विगतमा त्यहाँ पुल नहुँदा खोला वारपार गर्न निकै कठिन हुने गरेको घटना स्मरण गराउँदै उहाँले पुल नबन्दा एक जना लडेर मृत्यु भएको र केही घाइतेसमेत भएको घटना सुनाउनुभयो ।
उक्त स्थानमा लामो समयदेखि पुल नहुँदा सास्ती खेप्दै आएका स्थानीय निर्माणको काम सुरु हुँदा मात्र पनि आफूहरुमा खुसियाली छाएको प्रतिक्रिया दिएको पाइएको छ । धरान उपमहानगर पालिका–८ विकास संस्थाका अध्यक्ष सुभास श्रेष्ठले पुल भत्किएको तीन वर्षपछि निर्माण सुरु भएपछि अब भने बन्ने आशा पलाएको बताउनुभयो ।
स्थानीय, पालिका सरकार, प्रदेश सरकारको पहलमा सङ्घीय सरकारले बजेट विनियोजन गरेपछि पुल निर्माण काम अघि बढेको हो । पुल निर्माणको ठेक्का पाएको श्री ओम सुजल जेभीका सम्झौताअनुसार शुक्रबारदेखि काम सुरु गरेको छ । कम्पनीका साइट इञ्जिनियर रामबाबु शाहले पुलको फाउण्डेशन खन्ने सुरु भएको जनाउँदै मौसमले साथ दिए आगामी नौ महिनाभित्रै काम सम्पन्न गर्ने प्रतिबद्धता जनाउनुभयो ।
मदन भण्डारी राजमार्ग निर्माण आयोजनाका इञ्जिनियर घनश्याम खड्काका अनुसार १५ मिटर लम्बाइको उक्त पुलका लागि रु छ करोड तीन लाख सात हजारमा सम्झौता भएको हो । यसअघि विसं २०८० चैतमा निर्माण भएको उक्त पुल विसं २०८१ साउन २२ गते राति बाढीबाट भत्किएको थियो । त्यस लगत्तैदेखि नयाँ पुल निर्माणमा ढिलाइ हुँदा स्थानीयवासी जोखिम मोलेर आवतजावत गर्न बाध्य थिए ।
भएका स्थानीय लीलामाया तामाङका अनुसार सो पुल समयमा नबन्दा स्थानीय राम सुनुवारको उक्त स्थानबाट लडेर मृत्यु भयो भने मोटरसाइकल, स्कुटर र सिटी सफारी दूर्घटना हुँदा हालसम्म १५ जनाभन्दा बढी घाइते भइसकेका छन् । पछिल्लो समय धरान बजारको फोहर पानी यही खहरेमा मिसिने गरेको छ ।
चुनावका बेला उक्त पुल निर्माणका लागि विभिन्न राजनीतिक दल र उम्मेदवारले आश्वासन दिई भोट मागे पनि निर्वाचित भएपछि खासै चासो नदिएपछि स्थानीय आक्रोशित भएको घटना सुनाउँदै तामाङ भन्नुहुन्छ, “बच्चा, वृद्ध र बिरामी लिएर हिँड्दा निकै जोखिम हुन्छ । कहिले बन्ला भन्ने आशामा थियौँ । बल्ल निर्माण सुरु भयो, खुसी लागेको छ ।”
विसं २०१७ मा तत्कालीन ब्रिटिस घोपा क्याम्पसम्म आवतजावत सहज बनाउन निर्माण गरिएको पुल मदन भण्डारी राजमार्ग विस्तारका क्रममा नयाँ पुल नबनाइ पुरानै पुलमाथि कालोपत्र गरिएकाले संरचना कमजोर भइ भत्किएको थियो ।
पुल समयमा निर्माण नहुँदा वर्षायाममा खोलामा आउने बाढीका कारण आसपासका २०० भन्दा बढी घर बाढी तथा कटानको जोखिममा रहेको पाइएको छ ।


