Sunday 29th of November | २०८३ मङ्सिर १३ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

स्वतन्त्रता नभएको भए बङ्गलादेश पाकिस्तानी सेनाको अधीनमा रहने थियो: हसिना

न्यूजअभियान | प्रकाशित मिति : २०८३ मङ्सिर १३ आइतबार | (रासस/एएनआई)

नयाँदिल्ली, १३ मङ्सिर : बङ्गलादेशकी अपदस्थ प्रधानमन्त्री तथा अवामी लिगकी अध्यक्ष शेख हसिनाले मुक्ति योद्धामाथि आक्रमण र हिरासतमा रहेका व्यक्तिको हत्याका घटना भइरहेको आरोप लगाउँदै सरकारको आलोचना गर्नुभएको छ । स्वतन्त्रता प्राप्त नभएको भए बङ्गलादेश पाकिस्तानी सेनाको अधीनमा रहने उहाँले बताउनुभयो ।

अवामी लिगको भर्चुअल कार्यक्रमलाई सम्बोधन गर्दै हसिनाले हिरासतमा रहेका व्यक्तिलाई यातना दिइएको, उपचारबाट वञ्चित गरिएको र परिवारलाई जानकारी नदिई हत्या गरिएको आरोप लगाउनुभयो । उहाँले सन् १९७१ का मुक्ति योद्धा शेख हुसेन अलीको हत्या गरी शव रुखमा झुन्ड्याइएको घटनाको निन्दा गर्दै यसलाई देशको स्वतन्त्रता सङ्घर्षमाथिको प्रहार बताउनुभयो ।

आफ्ना पिता तथा बङ्गलादेशका संस्थापक नेता शेख मुजिबुर रहमानको स्मरण गर्दै उहाँ जीवित रहनुभएको भए स्वतन्त्रताको एक दशकभित्रै देश विकसित राष्ट्र बन्ने हसिनाको दाबी थियो ।

हसिनाको भनाइ अवामी लिगले दुईदिने देशव्यापी बन्द आह्वान गरेका बेला आएको हो । बन्दका क्रममा सडक अवरुद्ध र आगजनीका घटना भएपछि सरकारले थप प्रहरी तथा सीमा सुरक्षा बलका १२० प्लाटुन परिचालन गरेको छ ।

यसैबीच, नाराइल जिल्लामा बीएनपी समर्थित व्यक्तिहरूले अवामी लिगका नेता तथा कार्यकर्ताका घर र पसलमा आक्रमण तथा आगजनी गरेको ढाका ट्रिब्युनले जनाएको छ । घटनामा ५० भन्दा बढी आवासीय संरचना जलेर नष्ट भएको अग्नि नियन्त्रण सेवाले जनाएको छ ।

भारतमा निर्वासनमा रहनुभएकी हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गर्नुभएको छ । तर, प्रधानमन्त्री तारिक रहमान नेतृत्वको सरकारले उहाँलाई यात्रा कागजात नदिने र फर्किएमा पक्राउ तथा सुपुर्दगी प्रक्रिया अघि बढाउने जनाएको छ ।

भारतको विदेश मन्त्रालयले बङ्गलादेशको सुपुर्दगी अनुरोध स्थापित प्रक्रियाअनुसार परीक्षण भइरहेको बताएको छ । साथै, यात्रा कागजात लिएर स्वेच्छाले स्वदेश फर्किने विषय सुपुर्दगीभन्दा अलग रहेको स्पष्ट पारेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan