राजनीतिक स्थिरता र कांग्रेस रूपान्तरणको एजेन्डासहित शशांकको राष्ट्रिय भेला, ‘लोकतन्त्र दबाबमा छ’
काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले मुलुकमा बढ्दो राजनीतिक अस्थिरता, लोकतान्त्रिक मूल्य–मान्यतामाथि देखिएको चुनौती तथा पार्टीभित्र बढ्दो वैचारिक अन्योललाई सम्बोधन गर्ने उद्देश्यले साउन २९ देखि ३१ गतेसम्म काठमाडौंमा राष्ट्रिय भेला आयोजना गर्न लागिएको बताएका छन्।
शनिबार चुनदेवीस्थित सम्पर्क कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उनले ५ सय ५१ सदस्यीय आयोजक समितिको नेतृत्वमा हुने उक्त भेला कांग्रेसलाई वैचारिक, सांगठनिक र राजनीतिक रूपमा नयाँ दिशा दिने प्रयास भएको स्पष्ट पारे। उनका अनुसार पार्टीभित्रको निराशा हटाउँदै संगठनलाई थप सुदृढ बनाउने र आगामी राजनीतिक यात्राको स्पष्ट मार्गचित्र तय गर्ने उद्देश्यले भेला आयोजना गरिएको हो।
डा. कोइरालाले पछिल्लो एक वर्षदेखि देशको राजनीति अनिश्चितता, द्वन्द्व र अस्थिरताको चक्रमा फसेको उल्लेख गर्दै त्यसको असर नेपाली कांग्रेसमा समेत परेको बताए।
उनले २०८२ भदौ २४ गते पार्टी सभापति शेरबहादुर देउवा र केन्द्रीय सदस्य डा. आरजु राणा देउवामाथि भएको आक्रमण तथा कांग्रेस कार्यालयहरूमा भएको तोडफोडलाई लोकतान्त्रिक अभ्यासमाथिको गम्भीर चुनौतीका रूपमा चित्रण गरे। त्यस्तो परिस्थितिमा पार्टीभित्र थप एकता आवश्यक रहे पनि अपेक्षित सहकार्य हुन नसकेको उनको भनाइ थियो।
देशमा नागरिक स्वतन्त्रता र मानव अधिकार क्रमशः संकुचित हुँदै गएको तथा लोकतान्त्रिक संविधानमाथि समेत विभिन्न कोणबाट दबाब सिर्जना भइरहेको दाबी गर्दै उनले लोकतान्त्रिक शक्तिहरू सचेत र एकताबद्ध हुनुपर्ने आवश्यकता औंल्याए।
सुनसरीको देवानगञ्जबाट सुरु भएर मधेशका विभिन्न क्षेत्रमा फैलिएको साम्प्रदायिक हिंसाप्रति दुःख व्यक्त गर्दै उनले घटनामा ज्यान गुमाएकाहरूका परिवारलाई उचित क्षतिपूर्ति, घाइतेहरूको निःशुल्क उपचार तथा दोषीमाथि कानुनी कारबाही गर्न सरकारसँग माग गरे। धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र आपसी विश्वास नै राष्ट्रिय एकताको बलियो आधार भएकाले सबै पक्षले संयमता अपनाउनुपर्ने उनको धारणा थियो।
उनले पार्टीको विधानअनुसार कार्यकाल थप्नुपर्ने परिस्थितिमा विशेष महाधिवेशनको बहस उठाइँदा आन्तरिक मतभेद चुलिएको र त्यसले निर्वाचनमा पार्टीको प्रदर्शनसमेत प्रभावित भएको स्वीकार गरे। अब कांग्रेसलाई स्पष्ट नीति, बलियो संगठन र साझा नेतृत्वमार्फत अघि बढाउनुपर्नेमा उनले जोड दिए।
राष्ट्रिय भेलामा वर्तमान तथा पूर्व पदाधिकारी, संघीय र प्रदेश सांसद, प्रदेश तथा जिल्ला सभापति, भ्रातृ एवं शुभेच्छुक संस्थाका प्रतिनिधि, लोकतान्त्रिक आन्दोलनका अगुवा तथा विभिन्न क्षेत्रका बुद्धिजीवीहरूको सहभागिता रहने जानकारी दिइएको छ।
पत्रकार सम्मेलनमा नेता डा. शेखर कोइरालाको भूमिकाबारे उठेको जिज्ञासामा शशांक कोइरालाले शेखरले अभियानप्रति पूर्ण समर्थन जनाएको र पूर्वनिर्धारित व्यस्तताका कारण कार्यक्रममा उपस्थित हुन नसकेको बताए। उनले राजनीतिक स्थिरता, लोकतान्त्रिक संस्कृतिको संरक्षण र राष्ट्रिय शक्तिहरूबीचको सहकार्यबाट मात्रै मुलुकलाई वर्तमान संकटबाट बाहिर निकाल्न सकिने विश्वास व्यक्त गरे।
