Monday 3rd of August | २०८३ श्रावण १८ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

सुस्तामा विवाद पुनः सतहमा: ‘स्टाटस–को’ क्षेत्रमा बाँध निर्माण प्रयासपछि स्थानीय–भारतिय एसएसवी आमनेसामने, एपीएफको सक्रियताले स्थिति नियन्त्रणमा

न्यूजअभियान | प्रकाशित मिति : २०८३ श्रावण १८ सोमबार |

काठमाडौं । पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा फेरि सीमा विवादसँग जोडिएको संवेदनशील अवस्था सिर्जना भएको छ। नेपाल–भारतबीच अहिलेसम्म औपचारिक रूपमा सीमा सिमाङ्कन हुन नसकेको सुस्ता क्षेत्रमा ‘स्टाटस–को’ (यथास्थिति कायम राख्ने) सहमति रहेकै बेला बाँध निर्माणको प्रयास, माटो थुपार्ने र त्यसपछि भारतीय सशस्त्र सीमा बल (SSB) को उपस्थितिले स्थानीय तहमा तनाव उत्पन्न भएको हो।

नेपाल र भारतबीच सुस्ता क्षेत्रको सीमा विवाद लामो समयदेखि समाधान हुन सकेको छैन। सीमा सिमाङ्कन सम्पन्न नभएसम्म दुवै देशले यथास्थिति कायम राख्ने सहमति गरेका छन्। यही सहमतिका कारण दुवै पक्षले आफ्नो–आफ्नो दाबी कायम राख्दै आएका छन्।

बाढीको जोखिम रोक्न स्थानीयले थाले बाँध निर्माण

साउन १५ गते बिहान करिब १०:४० बजे नारायणी नदीको बाँध क्षेत्रमा नदीको बहाव बढेमा बाढी आउने जोखिम रहेको भन्दै करिब २०० स्थानीयवासी जम्मा भएर कोदालो र फरुवा प्रयोग गरी अस्थायी बाँध निर्माणका लागि जमिन खन्न थालेका थिए।

पछि दिउँसो करिब १२:३० बजे जेसीबी प्रयोग गरेर नजिकैबाट माटो ल्याई अस्थायी बाँध बनाउने काम सुरु गरिएको थियो।

घटनास्थलमा सशस्त्र प्रहरी बल नेपाल नं. २६ गण, पश्चिम नवलपरासीका गणपति सशस्त्र प्रहरी उपरीक्षक गोविन्दबहादुर खाती नेतृत्वको टोली पुगेको थियो। टोलीले स्थानीयसँग छलफल गर्दै स्थिति शान्त राख्न आग्रह गरेको थियो।

भारतीय SSB सँग समन्वय

त्यही क्रममा भारतको बिहार राज्य, पश्चिम चम्पारण जिल्ला, बगाहा क्षेत्रमा रहेको भारतीय सशस्त्र सीमा बल (SSB) २१ बटालियनका निमित्त कमाण्डेन्ट सुरेश शर्माको नेतृत्वमा भारतीय टोली पनि घटनास्थलमा पुगेको थियो।

दुवै पक्षबीच भएको छलफलपछि भारतीय पक्षले ‘स्टाटस–को’ कायम राख्ने गरी नेपालतर्फ भइरहेको काममा अवरोध नगर्ने जानकारी दिएको थियो। त्यसपछि भेलरको रुखलाई आधार मानी त्यसबाट करिब २५ मिटर पश्चिम नेपालतर्फको भागमा अस्थायी बाँध निर्माणको काम अघि बढाइएको थियो।

माटो थुपारिएपछि फेरि विवाद

भारतीय टोली फर्किएपछि केही स्थानीयले भेलरको रुख नजिक करिब पाँचदेखि छ ट्र्याक्टर माटो थुपारेका थिए।

साउन १७ गते दिउँसो ३:४५ बजे सशस्त्र प्रहरी बलको बिओपी सुस्ताबाट सशस्त्र प्रहरी निरीक्षक बसन्त पण्डितको नेतृत्वमा गएको टोली तथा स्थानीय अगुवा सिद्ध साधुसहित सात जना स्थानीयको उपस्थितिमा उक्त माटो सम्याउने काम गरिएको स्थानीयले बताएका छन्। टोली करिब ४:२० बजे फर्किएको थियो।

तर त्यसको केही समयपछि भारतीय SSB का करिब १५ जना सुरक्षाकर्मी सिभिल पोसाकमा आएर सोही स्थानको माटो पुनः सम्याउन खोजेको भन्ने सूचना सार्वजनिक भएपछि स्थानीयवासी आक्रोशित बने।

२५० स्थानीयको विरोध, एपीएफले स्थिति नियन्त्रणमा ल्यायो

भारतीय पक्ष पुनः घटनास्थल पुगेको खबर फैलिएपछि सुस्ता गाउँका करिब २५० स्थानीयवासी घटनास्थलमा भेला भएर विरोधमा उत्रिएका थिए।

जानकारी प्राप्त हुनासाथ बिओपी सुस्ताबाट सशस्त्र प्रहरी निरीक्षक बसन्त पण्डितको नेतृत्वमा टोली घटनास्थल पुगेर भारतीय SSB टोलीलाई तत्काल फिर्ता पठाएको सुरक्षा स्रोतले जनाएको छ। त्यसपछि सम्भावित तनाव थप बढ्न नपाई स्थिति नियन्त्रणमा आएको थियो।

गृह मन्त्रालय: अवस्था सामान्य, समन्वय जारी

घटनाबारे गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले हाल सुस्ता क्षेत्रको अवस्था सामान्य रहेको बताएका छन्।

उनका अनुसार स्थानीय तहमा सशस्त्र प्रहरी बलमार्फत भारतीय समकक्षी सुरक्षा निकायसँग निरन्तर समन्वय भइरहेको छ। साथै प्रमुख जिल्ला अधिकारीमार्फत भारतीय जिल्ला प्रशासन (डीएम) सँग पनि संवाद जारी रहेको र घटनाबारे नेपाल सरकारको परराष्ट्र मन्त्रालयलाई समेत जानकारी गराइसकिएको छ।

सीमा विवादको संवेदनशीलता फेरि उजागर

सुस्ता नेपाल–भारत सीमा विवादको सबैभन्दा संवेदनशील क्षेत्रमध्ये एक मानिन्छ। नारायणी नदीको धार परिवर्तन, सीमा सिमाङ्कन नहुनु र दुवै पक्षको फरक–फरक दाबीका कारण यहाँ बेला–बेलामा यस्ता विवाद उत्पन्न हुँदै आएका छन्।

यसपटकको घटनाले सीमा क्षेत्रमा हुने पूर्वाधार निर्माण, बाढी नियन्त्रण तथा स्थानीय सुरक्षाका विषयमा दुवै देशबीच प्रभावकारी समन्वय र दीर्घकालीन समाधानको आवश्यकता पुनः उजागर गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan