मुलुक सुरुङमार्गको नयाँ यात्रामा
काठमाडौं, १८ साउन । विकासको यात्रा केवल सडक, पुल र भवन निर्माणको कथा मात्र होइन, यो राष्ट्रको सोच, प्रविधि र सम्भावनाको विस्तारको कथा पनि हो।
लामो समयसम्म भौगोलिक कठिनाइ, कमजोर पूर्वाधार र चुनौतीपूर्ण भू–बनोटसँग संघर्ष गर्दै आएको नेपाल अब नयाँ युगको पूर्वाधार यात्रामा प्रवेश गरेको छ।
राष्ट्रिय गौरवको आयोजनाका रूपमा निर्माण सम्पन्न भएको नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनमा आएसँगै नेपालले औपचारिक रूपमा सुरुङ युगमा प्रवेश गरेको छ।
पहाडै पहाडले घेरिएको मुलुक नेपालका लागि सुरुङमार्ग कुनै विलासिताको विषय होइन, आवश्यकता र भविष्यको अनिवार्य बाटो हो।
घुम्ती, उकालो, पहिरो र जोखिमपूर्ण सडक यात्राले दशकौंदेखि नागरिकको समय, श्रम र जीवनसमेत लिँदै आएको छ। अब ती चुनौतीलाई प्रविधि र दूरदर्शी योजनामार्फत समाधान गर्ने समय आएको छ।
झण्डै ८० महिनाको निर्माण अवधिमा सम्पन्न भएको नागढुंगा सुरुङमार्ग नेपाल–जापान सहकार्यको एउटा महत्वपूर्ण उदाहरण हो।
मित्रराष्ट्र जापानको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण भएको यो आयोजना केवल एउटा सुरुङ मात्र होइन, नेपालको पूर्वाधार विकासमा नयाँ आत्मविश्वासको प्रवेशद्वार पनि हो।
काठमाडौं प्रवेश गर्ने प्रमुख नाकाको रूपमा रहेको नागढुंगा क्षेत्रमा हुने जाम, जोखिम र यात्राको कठिनाइलाई यसले ठूलो राहत दिने अपेक्षा गरिएको छ।
नेपालमा सुरुङ निर्माणको इतिहास भने सडकबाट मात्र सुरु भएको होइन। जलविद्युत् विकासका क्षेत्रमा सुरुङ प्रविधिको प्रयोग धेरै पहिलेबाट हुँदै आएको छ।
कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजनाको करिब ६ किलोमिटर लामो सुरुङ, आँधीखोला जलविद्युत् केन्द्रको सुरुङ तथा माथिल्लो तामाकोशी आयोजनाको सुरुङहरूले नेपालमा भूमिगत संरचना निर्माणको अनुभव विकास गरेका थिए।
तर, सडक यातायातलाई सहज, सुरक्षित र आधुनिक बनाउने उद्देश्यले सुरुङमार्ग निर्माणको सोच पछिल्लो दशकमा मात्र तीव्र रूपमा अघि बढेको हो।
सिद्धार्थ राजमार्गअन्तर्गतको सिद्धबाबा सुरुङमार्ग पनि नेपालको यातायात इतिहासमा अर्को महत्वपूर्ण कोसेढुंगा बन्नेछ। पहिरो र ढुंगा खस्ने जोखिमका कारण वर्षेनी नागरिकले ज्यान गुमाउनुपर्ने अवस्थालाई अन्त्य गर्ने उद्देश्यले निर्माण भइरहेको यो आयोजना राज्यको जिम्मेवारीबोधको प्रतीक हो। सुरक्षित यात्रा नागरिकको मौलिक आवश्यकता हो भन्ने मान्यतालाई यसले स्थापित गरेको छ।
नागढुंगा सुरुङमार्गको सफलतामा कुनै एउटा राजनीतिक दल वा सरकारको मात्र योगदान खोज्नु न्यायोचित हुँदैन। तत्कालीन प्रधानमन्त्रीहरू शेरबहादुर देउवा, झलनाथ खनाल, माधवकुमार नेपाल, पुष्पकमल दाहाल ‘प्रचण्ड’, केपी शर्मा ओलीदेखि वर्तमान सरकारसम्म विभिन्न चरणमा यो आयोजनाको अध्ययन, स्रोत व्यवस्थापन, सम्झौता, निर्माण र सम्पन्न गर्ने प्रक्रियामा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा जोडिएका छन्।
त्यसैले यस्ता राष्ट्रिय आयोजनाको स्वामित्व पनि साझा हुनुपर्छ। विकास कुनै दलको विजय होइन, राष्ट्रको उपलब्धि हो।
नेपाल–जापान कूटनीतिक सम्बन्धको सात दशक लामो यात्राको अवसरमा सम्पन्न भएको यो सुरुङमार्ग उद्घाटनले दुई देशबीचको सहकार्यलाई थप उजागर गरेको छ।
जापानले नेपालको शिक्षा, स्वास्थ्य, ऊर्जा र पूर्वाधार क्षेत्रमा लामो समयदेखि पुर्याैउँदै आएको सहयोग प्रशंसनीय छ। नागढुंगा सुरुङमार्ग त्यसै सहकार्यको एउटा जीवन्त नमुना हो।
तर, यो सुरुङमार्ग अन्तिम गन्तव्य होइन, नयाँ यात्राको सुरुवात मात्र हो। काठमाडौं–तराई जोड्ने द्रुतमार्गमा निर्माण गर्नुपर्ने धेरै सुरुङ, सिद्धार्थ राजमार्गको स्तरोन्नतिका क्रममा प्रस्तावित करिब २३ किलोमिटर सुरुङ संरचना तथा अन्य रणनीतिक सडक आयोजनाले नेपाललाई थप आधुनिक यातायात प्रणालीतर्फ लैजानेछन्।
विश्वका विकसित मुलुकहरूको प्रगतिमा पूर्वाधार विकास, सुरक्षित यातायात र प्रविधिको महत्वपूर्ण भूमिका रहेको छ।
पश्चिम युरोप, अमेरिका तथा ल्याटिन अमेरिकाका धेरै मुलुकहरूले कठिन भूगोललाई चुनौती होइन, अवसरका रूपमा लिएर सुरुङ, पुल र अत्याधुनिक यातायात सञ्जाल निर्माण गरेका छन्। नेपालले पनि अब त्यही दिशामा अघि बढ्नुपर्छ।
सुरुङमार्ग केवल पहाड छेड्ने संरचना होइन, यो समय बचाउने माध्यम हो। यो केवल सडक छोट्याउने प्रविधि होइन, यो आर्थिक गतिविधि विस्तार गर्ने आधार हो। यसले व्यापार, पर्यटन, आपतकालीन सेवा र जनजीवनलाई सहज बनाउँछ।
अब राज्यले सुरुङमार्ग विकासलाई दीर्घकालीन राष्ट्रिय योजनासँग जोड्न आवश्यक छ। नागरिक सहभागिता, पारदर्शिता, वातावरणीय सन्तुलन र आधुनिक प्रविधिको प्रयोगमार्फत यस्ता आयोजना अघि बढाउनुपर्छ।
विकासको गति केवल बजेट खर्चमा होइन, नागरिकको जीवनमा आउने सहजतामा मापन हुनुपर्छ।
नागढुंगा सुरुङमार्गले नेपाललाई एउटा महत्वपूर्ण सन्देश दिएको छ– कठिन पहाडभित्र पनि सम्भावनाका बाटा खोल्न सकिन्छ। अब नेपालले अँध्यारा सुरुङभित्रबाट उज्यालो भविष्यतर्फको यात्रा सुरु गरेको छ।
सुरक्षित यात्रा, सहज पहुँच र तीव्र विकासको आधार बन्ने सुरुङमार्ग अब नेपालको विकास यात्राको अपरिहार्य हिस्सा बन्नुपर्छ।
