ग्यास अभाव र बढ्दो महँगीप्रति अध्यक्ष दाहालद्वारा सरकारको ध्यानाकर्षण
काठमाडौँ, २७ साउन : खाना पकाउने एलपी ग्यासको आपूर्तिमा देखिएको असहजताका कारण उपभोक्ता मारमा परेको भन्दै राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
राष्ट्रिय सभाको आजको बैठकमा ग्यास आपूर्ति तथा बिक्री वितरणमा देखिएको समस्या र बढ्दो मूल्यका विषयमा सदस्यहरूले आवाज उठाएको उल्लेख गर्दै अध्यक्ष दाहालले उपभोक्तालाई सहज रूपमा ग्यास उपलब्ध हुने व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराउनुभएको हो ।
“आज सभाको शून्य तथा विशेष समयमा माननीयहरूले पनि ग्यास आपूर्तिमा असहजता तथा महँगीका कारण भएको समस्याका विषयमा आवाज उठाउनुभयो,” उहाँले भन्नुभयो, “त्यसर्थ सहज रूपमा ग्यास आपूर्ति तथा बिक्री वितरण गर्न आवश्यक व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।”
