साढे पाँच महिनाको उपचार बसाइपछि स्वदेश फर्किए कांग्रेस पूर्वसभापति शेरबहादुर देउवा, विमानस्थलमा भव्य स्वागत
काठमाडौं, २८ साउन । नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा लामो समयको उपचार बसाइपछि आज स्वदेश फर्किएका छन्।
स्वास्थ्य उपचारका लागि गत फागुन १३ गते श्रीमती डा. आरजु राणासहित सिंगापुर प्रस्थान गरेका देउवा साढे पाँच महिनापछि नेपाल फर्किएका हुन्।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पूर्वसभापति देउवालाई स्वागत गर्न कांग्रेसका नेता तथा देशैभरबाट काठमाडौं आएका हजारौँ कार्यकर्ताहरूको बाक्लो उपस्थिति रहेको थियो।
विमानस्थल परिसरमा उनीहरूको स्वागतका लागि विशेष बाजागाजा र झाँकी समेत प्रदर्शन गरिएको थियो।
पार्टीभित्रको आन्तरिक राजनीतिक समीकरण र आगामी राजनीतिक गतिविधिहरूकाबीच देउवाको यो स्वदेश फिर्तीलाई चासोका साथ हेरिएको छ।
प्राप्त जानकारी अनुसार, देउवा शुक्रबार सुकेधारास्थित एक पार्टी प्यालेसमा आयोजना हुने पार्टीको संस्थापनइतर पक्षीय राष्ट्रिय भेलामा सहभागी हुने कार्यक्रम रहेको छ।
