लघुवित्त पीडितसँग पूर्वराष्ट्रपति भण्डारी
ललितपुर, २ भदौः पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले मानवअधिकार आयोग अगाडि धर्नामा रहेका लघुवित्त पीडितलाई भेटेर उनीहरूका समस्या सुन्नुभएको छ ।
पूर्वराष्ट्रपति भण्डारी आज ललितपुरको पुल्चोक पुगेर गत शुक्रबारदेखि राष्ट्रिय मानवअधिकार आयोग र नेपालस्थित संयुक्त राष्ट्र सङ्घ कार्यालय अगाडि धर्नामा बसेका लघुवित्त पीडितको गुनासो सुन्नु भएको हो ।
राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति तथा नागरिक बचाउ महाअभियानका सर्लाही जिल्ला अध्यक्ष हरिप्रसाद मैनाली, महिला संयोजक विष्णु बोहोरा लगायतको नेतृत्वमा अभियानका बागमती प्रदेश अध्यक्ष तेजेन्द्र रायमाझीलगायत अभियानमा आबद्ध अभियान्ता एवं लघुवित्त पीडित यही साउन २८ गते शुक्रबारदेखि धर्नामा रहेका छन् ।
