विमानस्थलबाट गाँजासहित विदेशी नागरिक पक्राउ
काठमाडौँ, २ भदौः नेपाल प्रहरीले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट करिब ४० किलोग्राम ‘थाई गाँजा’ सहित आठ विदेशी नागरिकलाई पक्राउ गरेको छ ।
प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरोको टोलीले ३९ दशमलव २८ किलोग्राम ‘थाई गाँजा’ सहित पाँच म्यान्माका र तीन भारतीय नागरिकलाई आज पक्राउ गरेको हो ।
ब्यूरोका सहप्रवक्ता, प्रहरी नायब उपरीक्षक जीवन निरौलाका अनुसार पक्राउ पर्नेमा थाइल्यान्डको बैङ्ककबाट थाई एयरवेजको उडानमार्फत आएका पाँच म्यान्माका नागरिक छन् ।
यस्तै, थाइल्यान्डकै फुकेटबाट बाटिक एयरवेजको उडानबाट नेपाल आएका तीन भारतीय नागरिक छन् ।
प्रहरीले पक्राउ परेकासँग गाँजासहित आठ थान राहदानी र आठ थान मोबाइल बरामद गरेको छ । पक्राउ परेका सबैमाथि लागूऔषध नियन्त्रण ऐनअन्तर्गत थप अनुसन्धान भइरहेको सहप्रवक्ता निरौलाले बताउनुभयो ।
