Wednesday 19th of August | २०८३ भदौ ३ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

पूर्व–पश्चिम रेलमार्ग : मुआब्जा न जग्गा फुकुवा, जग्गाधनी मर्कामा

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ ३ बुधबार | (रासस)
newsabhiyan

झापा, ३ भदौः प्रस्तावित पूर्व–पश्चिम विद्युतीय रेलमार्गका लागि अधिग्रहण गरिएको जग्गाको मुआब्जा नपाउँदा स्थानीय जग्गाधनीहरू समस्यामा परेका छन् । उनीहरूले प्रचलित बजार मूल्यअनुसार अविलम्ब मुआब्जा दिन वा जग्गा फुकुवा गर्न माग गरेका छन् ।

सरकारले झापाको काँकरभिट्टादेखि सुनसरीको इनरुवासम्मको १२६.७५ किलोमिटर दुरीमा विद्युतीय रेलमार्ग निर्माण गर्न राष्ट्रिय गौरवको आयोजनाका रूपमा जग्गा अधिग्रहण गरेको थियो ।

यसका लागि सरकारले छ वर्षअघि २०७७ जेठ २४ र २७ गते सूचना जारी गरी मालपोत कार्यालयमार्फत हक हस्तान्तरण रोक्का गरेको थियो ।

पूर्व–पश्चिम रेलमार्ग मुआब्जा समन्वय समितिका केन्द्रीय सचिव ज्ञानेन्द्र निरौलाका अनुसार झापा, मोरङ र सुनसरीका चार हजारभन्दा बढी घरधुरीको पाँच हजार ४२४ कित्ता जग्गा रोक्का राखिएको छ ।

“जग्गा रोक्का गरिएको छ वर्ष बितिसक्दा पनि सरकारले न मुआब्जा दिन्छ, न त फुकुवा नै गर्छ”, उहाँले भन्नुभयो, “सरकारको यस्तो नीतिका कारण हामी सर्वसाधारण ठूलो मर्कामा परेका छौँ ।”

रेलमार्गका लागि झापाको दुई हजार ४५७, मोरङको एक हजार ६६८ र सुनसरीको एक हजार ३२९ कित्ता जग्गा अधिग्रहण गरिएको छ । अधिग्रहण क्षेत्रमा मेचीनगर र बिर्तामोडका दुई वटा सिङ्गो बस्ती नै परेका छन् ।

रेलमार्ग क्षेत्रमा ५१२.६९ हेक्टर खेतीयोग्य जमिन, ५३.६१ हेक्टर नदी तथा जलक्षेत्र, ३३ हेक्टर आवासीय क्षेत्र, १९.६ हेक्टर वनजङ्गल र १६.८६ हेक्टर सडक सञ्जाल पर्दछ ।

अधिग्रहण गरिएको क्षेत्रमा रेल विभागले सीमाङ्कनसमेत गरिसकेको छ । जग्गा किनबेच, अंशबण्डा, बैङ्क धितो र हक हस्तान्तरणमा पूर्ण प्रतिबन्ध लगाइँदा जग्गाधनीहरूले आफ्नो निजी सम्पत्तिको उपयोग गर्न पाएका छैनन् ।

समन्वय समितिका सचिव निरौलाले पटकपटक सरकार र मन्त्रीहरू फेरिए पनि समस्या जस्ताको तस्तै रहेको बताउनुभयो । उहाँका अनुसार प्रभावितहरूले चलनचल्तीको मूल्यअनुसार उचित मुआब्जा दिनुपर्ने वा छ वर्षसम्म रोक्का राखिए बापत क्षतिपूर्तिसहित जग्गा फुकुवा गर्नुपर्ने माग राख्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan