बर्डफ्लू सङ्क्रमण : काभ्रेमा ९० हजार पन्क्षी नष्ट
काभ्रेपलाञ्चोक, २ भदौः काभ्रेपलाञ्चोकमा बर्डफ्लू सङ्क्रमणका कारण हालसम्म ३० कृषकको पन्क्षीमा लाखौँको क्षति पुर्याएको छ । बर्डफ्लू सङ्क्रमणले क्षति पुगेका कृषकलाई क्षतिपूर्ति दिलाउन थालिएको जिल्ला पशुसेवा कार्यालय धुलिखेलले जनाएको छ ।
कार्यालयका अनुसार हालसम्म २० कृषकले क्षतिअनुसारको क्षतिपूर्ति प्राप्त गरिसकेका छन् । बाँकी १० कृषकको क्षतिपूर्ति रकम चालु आर्थिक वर्षमा दिइने कार्यालयका प्रमुख वरिष्ठ पशु चिकित्सक ब्रजकिशोर ठाकुरले बताउनुभयो । उहाँका अनुसार विभिन्न मितिमा बर्डफ्लू प्रमाणित भएका ३० कृषकका खोरमा रहेका कुखुरा तथा अन्य पन्क्षी नष्ट गरिएको थियो । बर्डफ्लू प्रमाणित भएका ३० कृषकमध्ये २० ले गत आर्थिक वर्षको अन्त्यतिर राहत रकम प्राप्त गरिसकेको जनाइएको छ ।
कार्यालयका अनुसार काभ्रेपलाञ्चोकमा गिरिराज कुखुरा, लेयर्स, ब्रोइलर, राजहाँस, स्थानीय कुखुरा र पेकिङ हाँसलगायत गरी ९० हजार २७५ पन्क्षी नष्ट गरिएको छ । यस्तै ३८ हजार १८३ अण्डा, १० हजार २१० केजी दाना र पाँच हजार २७५ क्रेट नष्ट गरिएको हो । विशेषगरी जिल्लाको बनेपा, पनौती तथा पाँचखाल क्षेत्रका विभिन्न फर्ममा बर्डफ्लु सङ्क्रमण पाइएको थियो ।
बर्डफ्लु महामारीले काठमाडौँ उपत्यकासँग जोडिएको काभ्रेपलाञ्चोकलाई समेत प्रभावित बनाएको थियो । कोशी प्रदेशबाट २०८२ चैतमा सुरु भएको उक्त महामारी गत असार मसान्तसम्म काभ्रेपलाञ्चोकसहित विभिन्न जिल्लामा फैलिएको थियो ।
उपत्यकासँग जोडिएको काभ्रलाञ्चोकमा बिपी तथा अरनिको राजमार्गका साथै अन्य सहायक सडक र खुला नाकाबाट भित्रिने पन्छीजन्य सामग्रीका कारण बर्डफ्लुको जोखिम बढेको थियो । बर्डफ्लू प्रमाणित हुन समय लाग्ने, प्रमाणित पन्क्षी नष्ट गर्न पनि समय लाग्ने तथा अन्य विविध कारणले कृषक सङ्कटमा परेको ठाकुरले बताउनुभयो ।
मरेका कुखुरा तथा हाँसलाई खोला, झाडी र अन्य खुला स्थानमा जथाभावी फाल्ने प्रवृत्तिका कारण काग तथा अन्य जङ्गली चरामार्फत सङ्क्रमण थप फैलिएको निष्कर्ष निकालिएको ठाकुरको भनाइ छ । कार्यालयले सङ्क्रमण नियन्त्रणनार्थ परीक्षण, व्यवस्थापन तथा ओसारपसार नियन्त्रणका कामलाई तीव्र बनाइएको ठाकुरले बताउनुभयो ।
ठाकुरका अनुसार व्यावसायिक पोल्ट्री फार्ममा बायोसेक्युरिटीका मापदण्ड कडाइका साथ लागू लगाइ कुखुराको खोरमा अनावश्यक व्यक्तिको प्रवेश रोक्ने, प्रवेश गर्नु परे सुरक्षाका उपाय अपनाउने, खोर तथा उपकरण नियमित रूपमा सफा राख्न र कुखुरा ओसारपसार गर्दा पूर्ण सरसफाइका मापदण्ड पालना गर्न लगाइएको थियो ।
हाल पनि जिल्लाको नाला, रोशी र खावा चेकपोस्टमा परीक्षणबिना तथा अवैध रूपमा ओसारपसार हुने कुखुराको निगरानी र नियन्त्रणलाई कडाइ गरिएको जनाइएको छ ।
