गोर्खाली सैनिकको साहस र योगदानको भारतीय सेनाध्यक्षद्वारा प्रशंसा
गण्डकी, ३ भदौः भारतका स्थलसेनाध्यक्ष धीरज सेठले भारत–नेपाल सैनिक सम्बन्ध ऐतिहासिक र गौरवपूर्ण रहेको बताउनुभएको छ ।
पोखरास्थित भारतीय राजदूतावासको पेन्सन वितरण कार्यालयमा आज आयोजित भूतपूर्व सैनिकको भेलामो दुई देशबीचको सैनिक सम्बन्ध अतुलनीय रहेको चर्चा गर्दैै उहाँले गोर्खाली सैनिकको साहस र योगदानको खुलेर प्रशंसा गर्नुभयो ।
“आफ्नो बहादुरी, बफादारी र बलिदानका कारण गोर्खाली सैनिकको विश्वमा छुट्टै पहिचान छ”, भारतीय सेनामा गोर्खाली सैनिकले देखाएको सौर्य अविस्मरणीय रहेको बताउँदै सेनाध्यक्ष सेठले भन्नुभयो ।
सेनाध्यक्ष सेठले भारत–नेपाल सम्बन्ध परम्परा, संस्कृति, धर्म र आस्थासँग जोडिएकाले सरकारीस्तरका साथै दुई देशका नागरिकबीचको सम्बन्ध पनि प्रगाढ रहेको बताउनुभयो ।
सेनाध्यक्ष सेठले भूतपूर्व सैनिक तथा उनीहरूका परिवारका लागि बाँकेको कोहलपुरमा स्थापना गरिएको पोलिक्लिनिकको ‘भर्चुअल’ माध्यमबाट शुभारम्भ पनि गर्नुभयो ।
त्यस अवसरमा वीरगति प्राप्त गरेका पूर्वसैनिकका परिवारका सदस्यलाई सम्मान गर्नाका साथै घाइते भूतपूर्व सैनिकलाई अपाङ्गतामैत्री स्कुटर पनि प्रदान गरिएको थियो ।
