रेडक्रस सोसाइटीको जग्गा खरिद कार्यमा ठगी गर्ने पाँच जना पक्राउ
काठमाडौं, ३ भदौ : रेडक्रस सोसाइटीको जग्गा खरिद कार्यमा ठगी गरेको अभियोगमा ५ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा भक्तपुर मध्यपुर थिमी नगरपालिका-३ निकोसेरा बस्ने ५२ वर्षीय राजेश देशमरू, सोही नगरपालिका-१ बस्ने उदयपुर घर भएका ७० वर्षीय संजिब थापा, चाँगुनारायण नगरपालिका-५ बस्ने ५८ वर्षीय मदन कृष्ण फोजु, काठमाडौं बस्ने नुवाकोट घर भएका ५७ वर्षीय उमेश प्रसाद ढकाल र काठमाडौं बालाजु बस्ने ६७ वर्षीय ईन्द्र बहादुर केसी रहेका छन् ।
केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
प्रारम्भिक अनुसन्धानको क्रममा नेपाल रेडक्रस सोसाइटी संस्थाको लागि गोदाम घर सञ्चालनको लागि भक्तपुर, भक्तपुर नगरपालिका-४ (क) मा खरिद गरेको जग्गा बोलपत्रमा उल्लेख भएको सर्त विपरीत मध्यस्थकर्ता (बिचौलिया) मार्फत गरेको, जग्गा खरिदमा ६ करोड ३२ लाख ८१ हजार २ सय ५० रूपैयाँ भुक्तानी गरेकोमा सो रकम मध्ये १ करोड ९३ लाख ७ सय ५० रूपैयाँ मध्यस्थकर्ता (बिचौलिया) ले लिएको एवम् क्षेत्रफल ५-१३-३-० जग्गा खरिद गरेकोमा नापी कार्यालय भक्तपुरबाट क्षेत्रफल एकिन गराउँदा फिल्डमा क्षेत्रफल ५-६-२-१ मात्र रहेको खुल्न आएको छ ।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर भक्तपुर पठाइएको छ ।
