Wednesday 19th of August | २०८३ भदौ ३ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

अमेरिका–दक्षिण कोरिया सैन्य अभ्यास घटाइयो

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ ३ बुधबार | (रासस-एपी)
newsabhiyan

सियोल, ३ भदौ : राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ उनलाई पुनः संवादमा ल्याउने प्रयास अघि बढाएपछि दक्षिण कोरिया र अमेरिकी सेनाले संयुक्त सैन्य अभ्यास निर्धारित समयभन्दा चार दिनअघि नै अन्त्य गर्ने भएका छन् । 

दुवै देशका अधिकारीहरूले बुधबार अभ्यासको अवधि र केही संयुक्त क्षेत्रीय प्रशिक्षण घटाउने सहमति भएको बताएका छन् । यस कदमले ट्रम्प–किम सम्भावित संवादको बाटो खोल्न सक्ने भए पनि दशकौँ पुरानो अमेरिका–दक्षिण कोरिया सुरक्षा गठबन्धनको सैन्य तयारी कमजोर हुने चिन्ता बढाएको छ ।

अमेरिका र दक्षिण कोरियाले सोमबार सुरु गरेको ११ दिने ‘उल्ची फ्रिडम सिल्ड’ अभ्यास अगस्ट २७ सम्म सञ्चालन गर्ने योजना बनाएका थिए । तर अमेरिकी आग्रहपछि अभ्यास शुक्रबार नै समाप्त हुने दक्षिण कोरियाली सेनाले जनाएको छ । दुवै पक्षले संयुक्त रक्षा क्षमता कायम राख्न अभ्यासका उद्देश्य पूरा गर्ने अन्य उपायबारे छलफल र कार्यान्वयन गर्ने बताएका छन् ।

ट्रम्पले अभ्यास सुरु हुनुअघि आफ्ना रक्षा प्रमुखलाई सहयोगी राष्ट्रहरूको ग्रीष्मकालीन सैन्य अभ्यास ‘पर्याप्त रूपमा घटाउन’ निर्देशन दिनुभएको थियो ।

उहाँले किमसँग आफ्नो राम्रो सम्बन्ध रहेको र दक्षिण कोरियाले इरानविरुद्धको अमेरिकी युद्धमा सहभागी हुन अस्वीकार गरेको विषयलाई पनि अभ्यास घटाउने निर्णयसँग जोड्नुभएको थियो ।

‘उल्ची फ्रिडम सिल्ड’ मुख्यतः कम्प्युटरमा आधारित कमान्ड पोस्ट अभ्यास हो र यसको उद्देश्य उत्तर कोरियाबाट सम्भावित आक्रमण भएमा संयुक्त रूपमा प्रतिकार गर्ने क्षमता विकास गर्नु हो । यस अवधिमा अमेरिका र दक्षिण कोरियाले छुट्टाछुट्टै तथा संयुक्त रूपमा विभिन्न सैन्य प्रशिक्षणसमेत सञ्चालन गर्दै आएका छन् ।

सन् १९५०–५३ को कोरियाली युद्धपछि विकसित अमेरिका–दक्षिण कोरिया सैन्य गठबन्धनको प्रमुख आधारका रूपमा यस्ता अभ्यासलाई लिइन्छ । तर उत्तर कोरियाले भने लामो समयदेखि यस्ता अभ्यासलाई आफूविरुद्धको आक्रमणको पूर्वाभ्यास भन्दै विरोध गर्दै आएको छ र त्यसको प्रतिक्रियामा क्षेप्यास्त्र परीक्षण गर्ने गरेको छ । यसै महिनाको अभ्यास सुरु हुनुभन्दा केही दिनअघि पनि उत्तर कोरियाले समुद्रतर्फ दुईवटा ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको थियो ।

यसपटकको अभ्यास दुई चरणमा सञ्चालन गर्ने योजना थियो । पहिलो चरणमा शुक्रबारसम्म उत्तर कोरियाली आक्रमणको सम्भावित अवस्थाको अनुकरण गर्दै रक्षात्मक कारबाहीको अभ्यास गर्ने र दोस्रो चरणमा अगस्ट २७ सम्म प्रतिआक्रमणका गतिविधि अभ्यास गर्ने तयारी थियो । उत्तर कोरिया विशेषगरी प्रतिआक्रमणसम्बन्धी अभ्यासप्रति संवेदनशील मानिन्छ ।

उत्तर कोरियाले ट्रम्पको पछिल्लो टिप्पणीबारे प्रत्यक्ष प्रतिक्रिया नदिए पनि सरकारी समाचार संस्था केसीएनएले बुधबार अमेरिका–दक्षिण कोरियाली सैन्य अभ्यासलाई ‘उन्मत्त’ र ‘अत्यन्त खतरनाक’ भन्दै आलोचना गरेको छ ।

उसले यस्ता सैन्य गतिविधिबाट आफ्नो सुरक्षामाथि गम्भीर खतरा बढेको दाबी गर्दै प्रतिरक्षाको अधिकार प्रयोग गरेर विरोधीको सैन्य खतरालाई निष्क्रिय पार्ने चेतावनी दिएको छ ।

विश्लेषकहरूका अनुसार आणविक कार्यक्रम विस्तार तथा रुससँग बढ्दो सैन्य सहकार्यका कारण आत्मविश्वास बढेको अवस्थामा किमले ट्रम्पको संवाद प्रस्ताव तत्काल स्वीकार गर्ने सम्भावना कम छ । उनीहरूले उत्तर कोरियाले ठूला सहुलियतको सुनिश्चितता खोज्न सक्ने बताएका छन् ।

ट्रम्प र किमबीच सन् २०१८ र २०१९ मा तीनपटक भेटवार्ता भएको थियो । तर उत्तर कोरियाले आफ्नो आणविक कार्यक्रम सीमित वा अन्त्य गर्ने व्यापक कदमको बदलामा प्रतिबन्ध हटाउनुपर्ने माग गरेपछि वार्ता निष्कर्षविहीन बनेको थियो ।

किमले गत वर्ष ट्रम्पको अघिल्लो संवाद प्रयासप्रति प्रतिक्रिया दिँदै अमेरिकाले उत्तर कोरियाको आणविक निशस्त्रीकरणलाई वार्ताको पूर्वसर्त नबनाए संवादमा फर्कन सकिने सङ्केत गर्नुभएको थियो ।

दक्षिण कोरियाली राष्ट्रपति ली जे म्युङको कार्यालयले सोमबार ट्रम्प र किमबीचको ‘मैत्रीपूर्ण सम्बन्ध’ ले कोरियाली प्रायद्वीपमा शान्ति स्थापना गर्न अमेरिका र दक्षिण कोरियाबीच अर्थपूर्ण संवादको वातावरण बन्ने आशा व्यक्त गरेको थियो । तर दक्षिण कोरियाका रूढीवादीहरूले भने ली सरकारमाथि सुरक्षा चिन्ताभन्दा ट्रम्प–किम कूटनीति पुनः सुरु गर्न प्राथमिकता दिएको आरोप लगाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan