टर्कीमा मिनीबस दुर्घटना हुँदा चार जनाको मृत्यु, १० घाइते
टर्कीको मध्य प्रान्त सिभासको सुसेहरी जिल्लामा यात्रुवाहक मिनीबस दुर्घटना हुँदा मङ्गलबार चार जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् ।
सिभासको गभर्नर कार्यालयका अनुसार सिभासबाट सुसेहरीतर्फ जाँदै गरेको मिनीबसका चालकले नियन्त्रण गुमाउँदा स्थानीय समयअनुसार दिउँसो करिब १२ः३० बजे डी–८६५ राजमार्गअन्तर्गत एल्मासेकी–चोक्राक क्षेत्रमा दुर्घटना भएको हो ।
मिनीबस सडक छेउको बारमा ठोक्किएपछि सडकबाट तल खसेर पल्टिएको थियो । दुर्घटनाका बेला मिनीबसमा १४ जना सवार थिए ।
दुर्घटनामा चार जनाको घटनास्थलमै मृत्यु भएको तथा चार जना गम्भीर र छ जना सामान्य घाइते भएका छन् ।
घटनालगत्तै स्वास्थ्यकर्मी, प्रहरी, जेन्डार्मेरी, दमकलकर्मी तथा विपद् तथा आपत्कालीन व्यवस्थापन प्राधिकरणका टोली उद्धारमा खटिएका थिए । घाइतेलाई उपचारका लागि नजिकैका अस्पताल तथा स्वास्थ्य केन्द्रमा लगिएको छ ।दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको अधिकारीले बताएका छन् ।
