Tuesday 18th of August | २०८३ भदौ २ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

लीले वाङ यीलाई भेट्नुहुने

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ २ मंगलबार | (रासस-एएफपी)

सियोल, २ भदौ : दक्षिण कोरियाली राष्ट्रपति ली जे मयुङले बिहीबार सियोलमा भ्रमणमा आउनुभएका चिनियाँ विदेशमन्त्री वाङ यीलाई भेट्नुहुने भएको छ । भेटमा दक्षिण कोरिया–चीन सम्बन्धको भविष्य, कोरियाली प्रायद्वीपको अवस्था तथा क्षेत्रीय र अन्तर्राष्ट्रिय विषयमा छलफल हुने भएको छ ।

चिनियाँ विदेशमन्त्री वाङ दुईदिने औपचारिक भ्रमणका क्रममा बुधबार दक्षिण कोरिया आउनुहुनेछ । उहाँले बिहीबार राष्ट्रपति लीसँग राष्ट्रपतिको कार्यालयमा भेटवार्ता गर्नुहुनेछ । भेटका क्रममा राष्ट्रपति लीले चिनियाँ राष्ट्रपति सी जिनपिङलाई शुभकामना सन्देश दिनुहुने कार्यक्रम रहेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

वाङले दक्षिण कोरियाका राष्ट्रिय सुरक्षा सल्लाहकार वाइ सुङ–ल्याकसँग वार्ता तथा दिवाभोजमा सहभागी हुनुका साथै विदेशमन्त्री चो ह्युनसँग पनि भेटवार्ता गर्नुहुनेछ । उहाँहरूबीच दक्षिण कोरिया–चीन सम्बन्ध, कोरियाली प्रायद्वीपको अवस्था तथा क्षेत्रीय र अन्तर्राष्ट्रिय विषयमा छलफल हुने जनाइएको छ ।

वाङको सियोल भ्रमण करिब पाँच वर्षपछि हुन लागेको हो । भ्रमणका क्रममा दुई देशले द्विपक्षीय सम्बन्धमा भएको प्रगतिसँगै आगामी नोभेम्बरमा चीनको शेनझेनमा हुने एसिया–प्रशान्त आर्थिक सहयोग (एपेक) शिखर सम्मेलनको तयारीबारे पनि छलफल गर्ने अपेक्षा गरिएको छ ।

चीन उत्तर कोरियाको प्रमुख कूटनीतिक तथा आर्थिक समर्थक हो भने दक्षिण कोरियाको सबैभन्दा ठूलो व्यापारिक साझेदार पनि हो ।

त्यसैले वाङको भ्रमणलाई सियोल र बेइजिङबीचको सम्बन्धसँगै उत्तर कोरियाको आणविक कार्यक्रम तथा कोरियाली प्रायद्वीपको सुरक्षा अवस्थाबारे संवादका दृष्टिले महत्त्वपूर्ण मानिएको छ ।

वाङको भ्रमण अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ–उनसँग पुनः सम्पर्कको सङ्केत दिनुभएको र दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउने घोषणा गर्नुभएको केही दिनपछि हुन लागेको हो ।

ट्रम्पले किमले आफूले गरेको पछिल्लो सम्पर्क प्रयासको जवाफ दिएको बताउँदै उहाँसँगको आफ्नो सम्बन्धको प्रशंसा गर्नुभएको थियो ।

ट्रम्पले आइतबार दक्षिण कोरियासँग हुने संयुक्त सैन्य अभ्यासलाई ‘अनुपयुक्त र शत्रुतापूर्ण’ भन्दै पेन्टागनलाई अभ्यास घटाउन आदेश दिएको घोषणा गर्नुभएको थियो । उक्त निर्णयले दक्षिण कोरियामा अमेरिकी सुरक्षा प्रतिबद्धताबारे चिन्ता बढाएको छ । राष्ट्रपति लीले भने अमेरिका–दक्षिण कोरिया गठबन्धनको महत्त्व दोहो¥याउँदै आफ्नो मुलुकको स्वतन्त्र रक्षा क्षमता पनि बलियो बनाउनुपर्ने बताउनुभएको छ ।

यसैबीच राष्ट्रपति लीले गत सप्ताहान्त कोरियाली युद्धलाई औपचारिक रूपमा अन्त्य गरी शान्ति व्यवस्था कायम गर्ने विषयमा उत्तर कोरियासँग वार्ताको प्रस्ताव गर्नुभएको थियो । उहाँले तनाव घटाउन र दीर्घकालीन शान्तिका लागि संवाद आवश्यक रहेको बताउनुभएको थियो ।

उत्तर कोरियाले भने दक्षिण कोरियासँगको सम्बन्धलाई शत्रुतापूर्ण ढङ्गले परिभाषित गर्दै आएको छ । उसले रुसको युक्रेन युद्धमा सेना र हतियार पठाएर मस्कोसँगको सम्बन्धसमेत थप सुदृढ बनाएको छ ।

यस वर्षको सुरुमा चिनियाँ राष्ट्रपति सीले बेइजिङमा अमेरिकी राष्ट्रपति ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग लगातार शिखर वार्ता गर्नुभएको थियो । त्यसपछि उहाँले प्योङयाङको भ्रमण गरी उत्तर कोरियाली नेता किमसँग पनि भेटवार्ता गर्नुभएको थियो ।

चीन र उत्तर कोरियाले उक्त भेटसम्बन्धी आधिकारिक विवरणमा उत्तर कोरियाको आणविक निशस्त्रीकरणको विषय उल्लेख नगरेपछि विज्ञहरूले त्यसलाई प्योङयाङको आणविक गतिविधिप्रति चीनको मौन स्वीकृतिका रूपमा व्याख्या गरेका थिए ।

यस्तो क्षेत्रीय परिस्थितिमा राष्ट्रपति ली र विदेशमन्त्री वाङबीचको भेटले दक्षिण कोरिया–चीन सम्बन्धलाई अघि बढाउनेसँगै उत्तर कोरिया, अमेरिका र चीनबीच बदलिँदो रणनीतिक समीकरणबारे सियोल र बेइजिङको धारणा स्पष्ट गर्ने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan