इमरानको स्वास्थ्यप्रति अल्वीको चिन्ता
इस्लामाबाद, २ भदौ : पाकिस्तानका पूर्वराष्ट्रपति आरिफ अल्वीले जेलमा रहेका पूर्वप्रधानमन्त्री इमरान खानको स्वास्थ्य अवस्था चिन्ताजनक रहेको दाबी गर्दै उहाँलाई तत्काल अस्पतालमा सारेर स्वतन्त्र चिकित्सकको निगरानीमा उपचार गर्न माग गर्नुभएको छ । उ
हाँले खानको तनाव, मुटुको धड्कन र उच्च रक्तचापप्रति विशेष चिन्ता व्यक्त गर्दै लामो समयको एकान्तवासले उहाँको स्वास्थ्यमा गम्भीर असर पारिरहेको बताउनुभएको हो ।
अल्वीले सामाजिक सञ्जाल एक्समा खानको मेडिकल रिपोर्ट आफूले विभिन्न विशेषज्ञसँग छलफल गरेर अध्ययन गरेको बताउँदै त्यसका आधारमा आफू गम्भीर रूपमा चिन्तित भएको उल्लेख गर्नुभयो । उहाँका अनुसार रिपोर्टमा खानको चिन्ता र तनावको उच्च स्तर, मुटुको धड्कन तथा उच्च रक्तचाप मुख्य चिन्ताका विषय देखिएका छन् ।
उहाँले रिपोर्टमा निद्रासम्बन्धी समस्याको स्पष्ट उल्लेख नभए पनि खानले प्रयोग गरिरहेको औषधिले त्यस्तो समस्या रहेको सङ्केत गर्ने बताउनुभयो ।
“म इमरान खानलाई ३५ वर्षभन्दा बढी समयदेखि चिन्छु । तनाव कहिल्यै उहाँको कमजोरी थिएन । अहिले यो चरम अवस्थामा पुगेको छ, जसले तीन वर्षको जेल र पूर्ण एकान्तवासले उहाँको स्वास्थ्यमा पारेको असर देखाउँछ”, अल्वीले भन्नुभयो ।
अल्वीले खानको मानसिक तनावलाई पाकिस्तानको राजनीतिक अवस्था, उहाँका सहकर्मीहरूको कैद तथा कतिपय व्यक्तिमाथि भएका सजाय र हिंसाका घटनासँग जोड्नुभएको छ । परिवार, बाहिरी संसार र सूचना स्रोतबाट लामो समय अलग राखिनु तथा समाचारपत्र र पुस्तकमा पहुँच नहुनुले समेत उहाँको तनाव बढाएको अल्वीको भनाइ छ ।
खानको मुटुको चालप्रति पनि चिन्ता व्यक्त गर्दै अल्वीले उहाँको आरामको अवस्थामा मुटुको दर ५४ बिट प्रतिमिनेट रहेको बताउनुभयो ।
सामान्य व्यक्तिका लागि यस्तो दरलाई चिकित्सकीय रूपमा सामान्य मान्न सकिए पनि खानको विगतको मुटुको दरको तुलनामा यो असामान्य हुन सक्ने उहाँको भनाइ छ । खानले मुटु धड्किने समस्या पनि बताउनुभएको अल्वीले उल्लेख गर्नुभयो ।
अल्वीले खानको स्वास्थ्य अवस्थाको विस्तृत मूल्याङ्कनका लागि तत्काल २४ घण्टे होल्टर मोनिटरमार्फत मुटुको निगरानी र रक्तचापको नियमित परीक्षण गर्न सुझाव दिनुभयो ।
उहाँले तनाव परीक्षण, इकोकार्डियोग्राम, कार्डियक एमआरआई, कोरोनरी धमनीको क्याल्सियम स्क्यान तथा कार्डियक सीटी एन्जियोग्रामलगायत परीक्षण आवश्यक हुन सक्ने बताउनुभयो ।
“म निकै चिन्तित छु । एकान्तवासले उहाँको शरीरमा शारीरिक असर गरिरहेको छ । यसलाई तत्काल सम्बोधन नगरिए थप जटिलतासहितको क्षति स्थायी हुन सक्छ”, अल्वीले भन्नुभयो ।
उहाँले खानलाई स्वतन्त्र चिकित्सकको प्यानलको निगरानीमा तत्काल अस्पतालमा सार्नुपर्ने माग गर्नुभयो । खानको परिवार र पाकिस्तानका नागरिकले सरकारद्वारा नियुक्त चिकित्सकमाथि मात्र विश्वास गर्न नसक्ने अवस्था रहेको पनि अल्वीले बताउनुभयो । आगामी तीन महिनामा उहाँको स्वास्थ्यमा सुधार आउने वा क्षति स्थायी बन्ने भन्ने विषय महत्त्वपूर्ण हुने उहाँको भनाइ छ ।
पूर्वप्रधानमन्त्री खान हाल जेलमा हुनुहुन्छ । उहाँका छोराहरू सुलेमान खान र कासिम खानले पनि बुबाको स्वास्थ्य तथा परिवार, चिकित्सक र कानूनी प्रतिनिधिसँगको पहुँचबारे चिन्ता व्यक्त गर्दै आउनुभएको छ । उहाँहरूका अनुसार परिवार, चिकित्सक र वकिललाई सात महिनादेखि खानलाई भेट्न अनुमति दिइएको छैन ।
खानको पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई) पार्टीका समर्थकहरूले उहाँ र उहाँकी पत्नी बुशरा बीबीको तत्काल रिहाइको माग गर्दै देशका विभिन्न स्थानमा प्रदर्शन गर्दै आएका छन् ।
खान सन् २०१८ देखि २०२२ सम्म पाकिस्तानको प्रधानमन्त्री रहनुभएको थियो । संसदीय अविश्वास प्रस्तावमार्फत पदबाट हटाइएपछि उहाँविरुद्ध विभिन्न मुद्दा अघि बढाइएका थिए । भ्रष्टाचार तथा सरकारी गोपनीयता उल्लङ्घनलगायतका मुद्दामा दोषी ठहरिएपछि उहाँ सन् २०२३ देखि जेलमा हुनुहुन्छ ।
खान र उहाँका राजनीतिक सहयोगीहरूले आफूविरुद्धका कानूनी कारबाही राजनीतिक उद्देश्यबाट प्रेरित रहेको र उहाँको राजनीतिक पुनरागमन रोक्न मुद्दाहरू अघि बढाइएको आरोप लगाउँदै आएका छन् ।
प्रधानमन्त्री पदबाट हटाइएपछि खानले तत्कालीन प्रधानमन्त्री शाहबाज सरिफको सरकार, पाकिस्तानको सैन्य प्रतिष्ठान तथा अमेरिकाले आफूलाई सत्ताबाट हटाउन षड्यन्त्र गरेको आरोप लगाउँदै राष्ट्रव्यापी राजनीतिक अभियान सञ्चालन गर्नुभएको थियो । पाकिस्तानी प्रशासनले भने ती आरोप अस्वीकार गर्दै आएको छ ।
सन् २०२४ को आमनिर्वाचनमा पीटीआईलाई प्रत्यक्ष रूपमा सहभागी हुन रोक लगाइएको र त्यसपछि पार्टीका नेता तथा समर्थकमाथि कारबाही गरिएको विषयलाई लिएर पनि खानका समर्थकहरूले विरोध गर्दै आएका छन् । उनीहरूले खानविरुद्धका मुद्दा राजनीतिक रूपमा प्रेरित भएको र उहाँको पुनः राजनीतिक सक्रियता रोक्ने उद्देश्यले अघि बढाइएको दाबी गर्दै आएका छन् ।
