मेहनत र आम्दानी दुवै गाउँमै
बैतडी, ९ भदौः यहाँको पाटन नगरपालिका–१० हतासका मदनराज भट्टको मुख्य आम्दानीको स्रोत बनेको छ, फलफूल र तरकारी खेती । घरका लागि मात्रै तरकारी उत्पादन गर्दै आएका भट्ट एक दशकयता व्यावसायिक रुपमा सक्रिय हुनुहुन्छ ।
उत्पादन राम्रो हुने र बजारको समस्या नभएकाले भट्ट परिवार नै पूर्ण रुपमा कृषि पेसामा आबद्ध छन् । “श्रीमती र दुई छोरासहित व्यावसायिक कृषि पेसामा आबद्ध छाँै”, भट्टले भन्नुभयो, “व्यावसायिक तरकारी खेतीबाट राम्रो आम्दानी हुँदा खुसी छौँ ।”
विसं २०७२ देखि व्यावसायिक रुपमा सुरु गर्नुभएको भेडेखुर्सानी खेती अहिले विस्तार भएर १६ रोपनी क्षेत्रफलमा पुगेको छ । “बजारको विस्तार भएसँगै भेडे खुर्सानी खेती व्यावसायिक रुपमा गरिरहेका छौँ”, उहाँले भन्नुभयो ।
बजारमा उचित मूल्य पाएको वर्ष भेडेखुर्सानीबाट मात्रै रु आठ लाखसम्म आम्दानी हुने गरेको भट्टले बताउनुभयो । आधुनिक कृषि प्रविधि, विशेषगरी मल्चिङ प्रविधि तथा कृषि उपकरणको प्रयोगले उत्पादनसँगै आम्दानी बढ्दै गएको उहाँको अनुभव छ ।
“कृषिलाई परम्परागत रूपमा मात्र नभई व्यवसायका रूपमा अघि बढाउनसके राम्रो आम्दानी गर्न सकिन्छ”, उहाँले भन्नुभयो, “बीउबिजन, ढुवानीलगायत अन्य खर्च कटाएर भेडेखुर्सानीबाटै रु चार लाखसम्म बचत हुने गरेको छ ।”
भट्ट परिवारले सञ्चालन गर्दै आएको मल्टी एग्रो फार्ममा करिब ४० रोपनी क्षेत्रफलमा तरकारी तथा फलफूलखेती भइरहेको छ । भेडेखुर्सानी, किबी, कागती, सुन्तला खेतीसँगै कुखुरा तथा बङ्गुरपालन गर्दै आउनुभएको छ ।
सुरुका दिनमा प्राविधिक ज्ञानको अभावमा केही कठिनाइ भए पनि अहिले किबीखेती क्रमशः विस्तार हुँदै गएको भट्टका छोरा दिपक बताउनुहुन्छ । बजारको केही चुनौती भए तापनि पाँच रोपनीमा किबी खेती गरिएको उहाले बताउनुभयो । “बजार र प्राविधिक ज्ञानको अभाव छ । युट्यब हेरेर व्यवसाय सञ्चालन गरेको हुँ”, दीपकले भन्नुभयो, “विसं २०७६ देखि सुरु गरिएकामा अहिले पाँच रोपनी क्षेत्रफलमा विस्तार गरी किबीका २०० बोट लगाएका छौँ ।”
दैनिक पन्ध्र सय बढी अण्डा उत्पादन
दुई वर्षयता दीपकले कुखुरापालन व्यवसाय पनि थप्नुभएको छ । रु १० लाखको लगानीमा आधुनिक खोर निर्माण गरी कुखुरापालन व्यवसाय थपिएको उहाँले जानकारी दिनुभयो ।
“अण्डा उत्पादनका लागि लेयर्स जातका दुई हजारबढी कुखुरा छन्”, दीपक भन्नुहुन्छ, “दैनिक एक हजार ६०० अण्डा उत्पादन हुने गरेको छ । बैतडीसहित बझाङ र दार्चुलाका विभिन्न बजारमा जाने गरेको छ ।”
बजारको अभाव नभए पनि ढुवानीको समस्या हुने गरेको कृषक भट्ट परिवारको भनाइ छ । व्यवसाय विस्तारको योजना भए तापनि दाना, अण्डा, बीउबिजनलगायत उत्पादित तरकारी बजारसम्म पुर्याउन सकस हुने गरेको दीपकको भनाइ छ ।
मेहनत गरे गाउँमै राम्रो आम्दानी
कृषि व्यवसायबाट वार्षिक रु एक करोडभन्दा बढीको कारोबार हुने भए पनि उत्पादन लागत, दाना, मल, औषधि, श्रम तथा ढुवानीलगायत खर्च कटाउँदा बचत भने अपेक्षाकृत कम हुने गरेको परिवारको भनाइ छ । सबै खर्च कटाएर वार्षिक रु ३० लाखसम्म खुद नाफा हुने गरेको दिपक बताउनुहुन्छ ।
“बाहिर गर्नुपर्ने मेहनत गाउँमै गरे आम्दानी राम्रो हुने दीपक बताउँछन् । “यहाँ केही पनि छैन भन्दै सयौँ नेपाली रोजगारीको खोजीमा विदेशिने गरेका छन्”, उहाँले भन्नुभयो, “तर गाउँमा पनि थुप्रै अवसर छन् । यतै मेहनत गर्यौँ भने विदेशकोभन्दा राम्रो कमाई हुन्छ ।”
व्यवसाय विस्तार गर्ने योजनामा रहेका भट्टले सरकारको साथ खोजेका छन् । उहाँले सडकको सहज पहुँच र बजारको थप व्यवस्थापनका लागि स्थानीय सरकारलाई आग्रहसमेत गर्नुभयो ।
