१७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी
हङ्गेरीको विदेश मन्त्रालयले कोभिड–१९ महामारीका बेला करिब ९६ करोड ५० लाख अमेरिकी डलरमा भेन्टिलेटर खरिद गरिएको विषयमा सम्भावित ठगी भएको भन्दै अभियोजनकर्तासमक्ष आपराधिक उजुरी दर्ता गरेको छ ।
विदेशमन्त्री अनिता ओर्बानले मङ्गलबार उक्त जानकारी दिँदै पूर्वप्रधानमन्त्री भिक्टर ओर्बान नेतृत्वको सरकारले सन् २०२० को मार्च र अप्रिलमा चीनबाट करिब १७ हजार भेन्टिलेटर खरिद गरेको बताउनुभयो । उक्त खरिदमा आवश्यकताभन्दा धेरै उपकरण किनेको र अन्य युरोपेली मुलुकको तुलनामा प्रतियुनिट निकै बढी मूल्य तिरेको भन्दै त्यसबेला आलोचना भएको थियो ।
ओर्बानले फेसबुकमा सार्वजनिक गरेको भिडियोमा मन्त्रालयको अनुसन्धानले ‘विश्वासको कर्तव्य उल्लङ्घनको आशङ्का’ देखाएको र त्यसबाट ठूलो आर्थिक क्षति तथा अन्य आपराधिक गतिविधि भएको हुन सक्ने बताउनुभयो ।
उहाँले आरोपका विस्तृत विवरण सार्वजनिक नगरे पनि अनुसन्धानका क्रममा दशौँ हजार दस्तावेज परीक्षण गरिएको बताउनुभयो । उहाँका अनुसार केही दस्तावेज मेटाउने प्रयास गरिए पनि डिजिटल उपकरणबाट पुनःप्राप्त गरिएको थियो । अनुसन्धानले मन्त्रालयको पूर्वउच्च नेतृत्वको जिम्मेवारीबारे थप प्रश्न उठाएको उहाँले बताउनुभयो ।
हङ्गेरी सरकारले मङ्गलबार जारी गरेको विज्ञप्तिमा भेन्टिलेटर खरिदमा अन्य शङ्कास्पद अनियमितता पनि देखिएको उल्लेख गरेको छ । अधिकांश उपकरण मध्यस्थ कम्पनीमार्फत खरिद गरिएको र ती कम्पनीको आम्दानी कारोबारपछि उल्लेख्य रूपमा बढेको विज्ञप्तिमा जनाइएको छ ।
केही भेन्टिलेटरमा खराबी देखिएको र ठूलो सङ्ख्यामा उपकरण प्रयोगमै नल्याइएको पनि सरकारले जनाएको छ । प्रयोग नगरिएका उपकरण भण्डारण गर्दा लाखौँ डलर खर्च भएको विज्ञप्तिमा उल्लेख छ ।
हङ्गेरीका पूर्वविदेशमन्त्री पिटर सिज्जार्टोले आफ्नो करिब १२ वर्षे कार्यकालमा चीनसँग घनिष्ठ सम्बन्ध विकास गर्नुभएको थियो । उहाँले भेन्टिलेटर खरिदका साथै चीनबाट ५० लाख डोज सिनोफार्म कोभिड–१९ खोप खरिदको पनि निरीक्षण गर्नुभएको थियो ।
गत महिना सिज्जार्टोले चिनियाँ विद्युतीय सवारी निर्माता बीवाइडीमा कार्यकारी पद सम्हाल्न संसद् सदस्यबाट राजीनामा दिनुभएको थियो । पदमा रहँदा कम्पनीलाई दिइएको ठूलो सरकारी अनुदानमा भूमिका खेलेको भन्दै उहाँमाथि स्वार्थको द्वन्द्वको आरोप लागेको थियो ।
त्यसपछि हङ्गेरी सरकारले सिज्जार्टोको कार्यकालमा बीवाइडीले हङ्गेरीमा गरेको ठूलो लगानीसम्बन्धी अनुसन्धान पनि सुरु गरेको छ ।
