भक्तपुरमा गाईजात्राको रौनक
भक्तपुर, ९ भदौः प्रत्येक वर्ष भाद्र शुक्ल प्रतिपदाको दिन नेवार समुदायले भक्तपुरमा भव्य रुपमा मनाउने गाईजात्रा अर्थात् सापारुको टोलटोलमा तयारी पूरा भएको छ ।
गाईजात्रा पर्व यस वर्ष भदौ १३ गते शनिबार नेवार समुदायले आफ्ना दिवङ्गत पितृको सम्झनामा मनाउने गाईजात्राका लागि टोलटोलमा धिमे बाजाको तालमा लठ्ठी जुधाई घेन्ताङघिंसी नाचलगायत अन्य नाचहरुको तयारी पूरा भएको छ ।
नेवार समुदायले वर्ष दिनभरि दिवङगत भएका आफन्तको नाममा जिउँदो गाई घुमाउने र धेरैले प्रतिकात्मक रुपमा माटोको गाई बनाएर नगर घुमाउने प्रचलन रहेको छ । यो प्रचलनलाई नेपाल भाषामा ‘सायात’ गर्ने भन्ने गरिएको संस्कृतिविद् देवराज जोशीले जानकारी दिनुभयो । ‘सा’ भन्नाले गाई र ‘यात’ भन्नाले यात्रा वा जात्रा भन्ने गरिन्छ ।
काठमाडौँ उपत्यकालगायत विभिन्न जिल्लामा बसोबास गर्दै आएका नेवार समुदायले आआफ्नै शैली तथा परम्पराअनुसार गाईजात्रा मनाउने प्रचलन छ । जनै पूर्णिमाको दिन साँझपख तलेजुबाट घेन्ताघिंसी नाच सहित तलेजुको सा (गाई) निकालेर भक्तपुर नगरको प्रदक्षिणा मार्ग भएर परिक्रमा गरेपछि भक्तपुरमा आठदिनसम्म मनाइने गाईजात्रा सुरु हुन्छ ।
प्रतिपदाका दिन बिहानैबाट दिवङ्गतको नाममा भक्तपुरवासीले गाईजात्रा निकाल्ने गर्दछन् । दिवङ्गत ससाना केटाकेटीको सम्झनामा बिहान कतिपयले विशेषगरी डोकोमा बनाएको गाई अर्थात ‘दोकचा सा’ बोकेर घुमाउने र कतिपयले जिउँदो गाई पनि घुमाएर जात्रा मनाउने उहाँले बताउनुभयो ।
कतिपयले कालो माटोको बसाहा बनाइ सिङ्गारिएको खटमा राखेर बाजागाजाका साथ नगर परिक्रमा गर्ने प्रचलन रहेको छभने केटाकेटीलाई सिङ्गारपटार गरेर कम्मरमा पटुका बाध्नँ लगाई दुई टुप्पो भुइँमा लत्रने गरी घुमाउने प्रचलनलाई ‘वासा लुयेगु’ पनि भन्ने गरिन्छ ।
भक्तपुरको सापारुको सबभन्दा आकर्षण ताहासाँ अर्थात चार वटा लामो लामो बाँसबाट बनेको गाई हो । दुई जनाले अग्लो ताहासाँको अगाडि–पछाडि कपडाको डोरी समाउने र चार जनाले बोकेर पाका उमेरका दिवङ्गतको सम्झनामा परिक्रमा गर्ने अर्का संस्कृतिकर्मी प्रताप श्रेष्ठले जानकारी दिनुभयो ।
यसरी ताहासाँको अघि–अघि केटाकेटी, युवायुवतीदेखि पाका उमेरकासम्मका स्थानीयले परम्परागत धिमे बाजाको तालमा लठ्ठी जुधाई घेन्ताङघिंसी नाच नाच्दै आउँदा ठूलो रौनक थपिन्छ । जात्रामा ‘घिनिताङ घिनिता घिन्ताङघिसी त्वाङ्ग’ भनेर सांस्कृतिक गीत गाएर नाचिने प्रसिद्ध घिन्ताङघिसी नाचले आकर्षण थप्ने उहाँ बताउनुहुन्छ ।
आठदिनसम्म घिन्ताङघिसी नाचसँगै हनुमान नाच, जङ्गल नाच र माक प्याखं अर्थात् बाँदर नाचसमेत टोलटोलमा प्रदर्शन गर्ने परम्परा रहेको छ । यसका साथै लाखे नाच, भैरव नाचलगायत देवीदेवताका नाचसमेत प्रदर्शन गर्ने परम्परा रहेको छ । विभिन्न घरबाट निकालिएको जात्रा दरबार स्क्वायर, बालाखु गणेश, चोछेँ, भोलाछेँ, महालक्ष्मी, नागपोखरी, क्वाठण्डौँ, नवदुर्गास्थान, सूर्यमढी, दत्तात्रय, सुकुलढोका, गोलमढी, तौमढी, पोटरीस्क्वायर, वंशगोपाल, इताछेँ, खौमाको परिक्रमा गराउने गर्दछन् ।
गाईजात्राको दिन नौ जोर लुगा लगाउनुपर्ने, नौ थरी खाने कुरा खानुपर्ने र नौ पटक टोल घुम्नुपर्ने परम्परा रहिआएको छ । त्यसदिन दिवङ्गत भएका आफन्तको सम्झनामा गाईजात्राका सहभागीलार्ई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गर्ने परम्परा रहेको छ ।
दिनभरि जात्रा गरेपछि साँझतिर भक्तपुरको लाकुलाछेबाट परालबाट मात्रै ‘सुयाम्ह भैल द्यः’ र भद्रकालीको ताहाँसा घेन्ताघिंसी निकालेर नगर परिक्रमा गराएपछि भने त्यसदिनको जात्रा सम्पन्न हुने उहाँ गर्दछ ।
भक्तपुरको सापारु आठदिनसम्म विभिन्न देवदेवीको जात्रा गरी कृष्णाष्टमीमा समापन हुने गर्दछ । गाईजात्राका दिनबाहेक अन्य दिनमा अपरान्हदेखि टोलटोलबाट घेन्ताङघिंसी गाईजात्रा रुटमा प्रर्दशन गर्ने, बिभिन्न नाचहरु र व्यंङ्ग्य गर्ने प्रचलन रहेको छ । इतिहास अनुसार कान्तिपुरका राजा प्रताप मल्लको कान्छा छोरा चक्रवर्तेन्द्रको अल्पायूमै पछि शोकाकूल रानीलाई सान्त्वना दिन दिवंगत घरबाट गाईजात्रा निकाल्न भनेपछि ने.स. ७९० मा प्रचलन चलाएको कथन रहेको जोशी बताउनुहुन्छ ।
हिन्दू धर्मग्रन्थ पद्मपुराणमा उल्लेख भएअनुसार वर्षभर बन्द हुने स्वर्गद्वार गाईजात्रा निकालेपछि खुल्छ र त्यो समयमा मृतकको नाममा प्रतिकात्मक गाई बनाएर वैतरणी नदी पार गरी स्वर्ग जाने भन्ने मान्यता रहँदै आएको उहाँ बताउनुहुन्छ । सापारु अर्थात गाईजात्राको लिच्छवीकालमा विकास हुँदै लिच्छवी राजा आनन्द देवले चारैतिर अष्टमातृका देवी तथा मध्यभागमा भैरव स्थापना गरी सम्पूर्ण नेपाल मण्डलको राजधानी भक्तपुर बनाएर जात्रा चलाएको भनाइ छ ।
