अध्यारोबाट उज्यालो देखेपछि ...
तुलसीपुर (दाङ), ९ भदौः दाङ तुलसीपुर उपमहानगरपालिका–१२ हरीपौरीका अर्जुन आचार्य लामो समयदेखि आँखा धमिलो देख्ने समस्याबाट ग्रसित हुनुहुन्थ्यो ।
यसअघि उहाँले कहिल्यै आफ्नो आँखाको जाँच गराउनुभएको थिएन । तर, तुलसीपुर–१२ को वडा कार्यालयमा सोमबार राखिएको स्वास्थ्य शिविरमा जाँच गराउँदा मोतियाबिन्दुु देखियो ।
“पहिल्यै धमिलो देखिन्थ्यो, तर, परीक्षण गराउन पाएको थिएन”, उहाँले भन्नुभयो, “अहिले परीक्षण गराउँदा मोतियाबिन्दु भएको रहेछ, अब आज शल्यक्रियाका लागि बोलाउनुभएको छ ।”
हरीपौरीकै बट्क्या चौधरीको पनि देब्रे आँखा कम देखिने समस्या थियो । त्यो आँखा पनि शल्यक्रिया गर्नुपर्ने चिकित्सकले सुझाव दिए । गाउँघरमै यसरी शिविर सञ्चालन भएपछि आफूले आँखा जाँच गराउन पाएको उहाँको भनाइ छ । “गाउँमै आँखा जाँच गर्ने शिविर आयो”, उहाँले भन्नुभयो, “आँखा जाँच गराउँदा समस्या पनि पत्ता लाग्यो ।”
उहाँहरु मात्रै होइन, सोही वडाका मात्रै तीनसय ८२ जनाको आँखा जाँच गरिएको थियो । त्योमध्ये ६३ जनामा मोतियाबिन्दुुको समस्या देखिएको थियो, भने एकसय ११ जनालाई चस्मा वितरण गरिएको थियो ।
मोतियाबिन्दुु बिग्रिएर जलविन्दु भएमा त्यसले आँखालाई निकै समस्या पार्ने भएकाले पनि मोतियाबिन्दुुको पहिचान गरी शल्यक्रिया गर्नका लागि यो शिविर आयोजना गरिएको अस्पतालका नेत्र सहायक विमल घिमिरेले जानकारी दिनुभयो ।
उहाँका अनुसार मोतियाबिन्दुुको शल्यक्रिया गर्न रु १२ हजार लाग्ने गरेको भए पनि शिविरबाट गएपछि छ हजार पाँच सयमा शल्यक्रिया गरिदिनेसमेत बताउनुभयो ।
त्यस्तै चस्मा आवश्यक पर्नेहरुलाई निःशुल्क चस्मासमेत वितरण गरिएको अस्पतालका प्रशासन सहायक पूर्णबहादुर वलीले बताउनुभयो । नेपालमा दृष्टि गुम्नुको मुख्य कारण नै मोतियाबिन्दुु रहेकोसमेत उहाँले जानकारी दिनुभयो ।
उमेर बढ्दै जाँदा मोतियाबिन्दुु हुनु स्वभाविक प्रक्रिया रहेको जनाउँदै यसलाई समयमै पहिचान र शल्यक्रिया गर्नुपर्ने उहाँको भनाइ छ । यदि समयमै शल्यक्रिया नभएमा भने जोखिम बढ्न सक्ने उहाँको भनाइ छ ।
वडावासीको मागअनुसार यसरी स्वास्थ्य शिविर आयोजना गरिएको वडाध्यक्ष खुसीराम चौधरीले जानकारी दिनुभयो । आँखाजस्तो संवेदनशील अङ्गलाई जोगाउन पनि यस्ता शिविरले महत्वपूर्ण भूमिका निर्वाह गर्ने उहाँको भनाइ छ ।
वडा कार्यालयको आयोजना तथा नेपाल नेत्र ज्योति सङ्घ (राप्ती आँखा अस्पताल) प्राविधिक सहयोगमा निःशुल्क आँखा जाँच शिविर भएको हो । शिविरलाई नर्वेको ‘द नर्वेजियन एसोसिएसन अफ द ब्लाइन्ड एन्ड पार्सियली साइटेड’, ‘एट्लास एलायन्स’ तथा नर्वे सरकारको आर्थिक सहयोग रहेको छ ।
यो शिविर तुलसीपुरको १२ र १३ मा सम्पन्न भइसकेको छ, भने केही दिनमा तुलसीपुर–११ मा आयोजना हुनेछ । त्यस्तै घोराही उपमहानगरपालिकासहित बबई, शान्तिनगर, दङ्गीशरणमा पनि शिविर सञ्चालन हुनेछ । यो कार्यक्रमअन्तर्गत डिसेम्बरसम्म १२ सयलाई मोतियाबिन्दुुको शल्यक्रिया गर्ने कार्यक्रम रहेको छ ।
