‘मानवबस्ती जोखिममा पार्ने गरी हात्तीको जैविक मार्ग बनाउन नहुने’
झापा, ८ भदौः जङ्गली हात्तीको आक्रमण र क्षतिबाट वर्षौँदेखि पीडित बनेका बाहुनडाँगी क्षेत्रका बासिन्दाले मानवबस्ती जोखिममा पार्ने गरी हात्तीको जैविक मार्ग बनाउन नहुने बताएका छन् । राज्यले बाहुनडाँगीबाट कोसीटप्पुसम्म हात्ती हिँड्ने बाटोका रूपमा जैविक मार्ग बनाउने योजना अघि सारेसँगैै स्थानीयले बस्ती संरक्षण प्राथमिकतामा राख्नुपर्नेमा जोड दिएका हुन् ।
मानवबस्ती जोखिममा पार्ने गरी हात्तीको जैविक मार्ग बनाउन नहुने भन्दै बस्ती र नागरिक पहिलो प्राथमिकतामा पर्नुपर्ने बाहुनडाँगीबासीले सरकारसँग माग गरेका छन् । जनावर संरक्षणको नाममा नागरिकको बास उठाउन खोजिएको तत्कालीन बाहुनगाँगी गाउँ विकास समितिका अध्यक्ष निलकण्ठ तिवारीले बताउनुभयो । उहाँले भन्नुभयो, “करिब ४० लाख नागरिक बसोबास गर्ने क्षेत्रलाई हात्ती हिँड्ने बाटोका रूपमा विकास गर्नुहुँदैन ।”
स्थानीय रमेश दाहाल र विनोद खनालले जैविक विविधता संरक्षणको नाम बस्ती जोखिममा पार्न नहुने भन्दै हात्तीको सुरक्षा र संरक्षण जङ्गलभित्रै गरिनुपर्नेमा जोड दिनुभयो । उहाँहरूले मानव बसोबास क्षेत्रमा नागरिकलाई शान्तिपूर्ण रूपमा बस्न दिने वातावरण सुनिश्चित गराउन सरकासँग माग गर्नुभयो ।
