Tuesday 25th of August | २०८३ भदौ ९ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

पर्यटन प्रवर्द्धन गर्न साँत बुँदे घोषणापत्र जारी

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ ८ सोमबार | (रासस)

बाँके, ८ भदौः नेपालगन्ज-पोखरा, नेपालगन्ज-जनकपुरलगायत सम्भावित नयाँ हवाई गन्तव्यलाई जोडेर नियमित तथा प्रभावकारी उडान गर्न पर्यटन व्यवसायीले आग्रह गरेका छन् । नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) बाँके च्याप्टरले आफ्नो सातौँ स्थापना दिवसका अवसरमा सात बुँदे घोषणापत्र जारी गर्दै यस क्षेत्रको पर्यटन प्रवर्द्धन गर्ने लक्ष्य लिएको हो ।

    नेपालगञ्ज विमानस्थललाई पश्चिम नेपालको प्रमुख पर्यटकीय प्रवेशद्वारका रूपमा विकास गर्न सम्बन्धित सरकारी निकाय, विमान सेवा प्रदायक तथा निजी क्षेत्रसँग निरन्तर समन्वय गरिने उल्लेख गर्दै बाँके तथा आसपासका धार्मिक गन्तव्यलाई एकआपसमा जोडेर धार्मिक पर्यटन सर्किट विकास गरिने घोषणपत्रमा जनाइएको छ ।  

    बागीश्वरी-बाबा-बर्फानी-सन्तानेश्वर-गोवर्द्धनधाम-भुवर भवानीलगायत गन्तव्यलाई एउटै पर्यटन योजना (प्याकेज) मा आबद्ध गर्दै कैलाश मानसरोवर, लुम्बिनी, रारा तथा अन्य प्रमुख धार्मिक तथा आध्यात्मिक गन्तव्यसँग नेपालगञ्जलाई जोड्ने अभियानसमेत सञ्चालनका लागि पहल गरिने उल्लेख छ ।  

    भारतीय पर्यटकलाई लक्षित गर्दै रुपैडिहा नाकासम्म सहज आवागमन, पर्यटकमैत्री सीमा व्यवस्थापन, ‘ग्रीनलाइन तथा स्मार्ट बोर्डर’ (यात्रु तथा मालवाहक सवारीसाधनको जाँचलाई छिटो र सुरक्षित बनाउने) अवधारणाका लागि सम्बन्धित निकायसँग सहकार्यमा जोड दिइएको नाट्टा बाँके च्याप्टरका अध्यक्ष डिल्लीराज रेग्मीले जानकारी दिनुभयो ।

    च्याप्टरले धार्मिक, प्राकृतिक, सांस्कृतिक तथा साहसिक पर्यटनको सम्भावना बोकेको बाँके-बर्दियालाई लुम्बिनी तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका प्रमुख गन्तव्यसँग जोड्दै पर्यटनलाई स्थानीय अर्थतन्त्र, रोजगारी र समृद्धिको आधार बनाउने उद्देश्य राखेको छ । 

    अध्यक्ष रेग्मीले भन्नुभयो, “हामीले पर्यटन क्षेत्रको विकास र प्रवर्द्धनका लागि नयाँ अवधारणा अघि सारेका छौँ । यसले यहाँको बजारलाई गति दिने छ ।” उहाँले भारतीय पर्यटकलाई आकर्षण गर्न, नयाँ पर्यटन प्याकेज निर्माण, डिजिटल प्रचारप्रसार, पर्यटन व्यवसायीको क्षमता अभिवृद्धि तथा सरकारी, निजी र समुदायबीच सहकार्यलाई प्राथमिकतामा राख्दै च्याप्टरले सात बुँदे प्रतिबद्धता घोषणा जारी गरेको उल्लेख गर्नुभयो । 

    पर्यटकीय गन्तव्यलाई राष्ट्रिय तथा अन्तररााष्ट्रिय बजारसम्म पुर्‍याउन डिजिटल माध्यमको प्रभावकारी उपयोग गरिने भन्दै नाट्टाले सामाजिक सञ्जाल, डिजिटल सामग्री, दृश्य सामग्री तथा आधुनिक प्रचार प्रणालीमार्फत पर्यटकीय गन्तव्यको ब्रान्डिङ र बजार विस्तार गरिने जनाएको छ । 

    विशेषगरी नेपाल-भारत सीमाबाट भित्रिने भारतीय तथा अन्य पर्यटकलाई लक्षित गरी सीमा क्षेत्र पर्यटन प्रवर्द्धन अभियान सञ्चालन गरिने जानकारी दिँदै सहज सूचना, पहुँच, सेवा र पर्यटनमैत्री वातावरण निर्माणका लागि सम्बन्धित निकायसँग सहकार्य गरिने अध्यक्ष रेग्मीले बताउनुभयो । 

    पर्यटन गन्तव्यको विकासदेखि प्रचारप्रसार, पूर्वाधार, सेवा, बजार विस्तार र व्यवसायिक अवसर सिर्जनासम्म स्थानीय समुदाय तथा सरोकार भएका निकायका प्रतिनिधिको सहभागितालाई सुनिश्चित गर्दै ‘साझेदारीमा पर्यटन, पर्यटनबाट समृद्धि’ को अभियान अघि बढाइने पनि घोषणापत्रमा उल्लेख गरिएको छ ।  
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan