Thursday 20th of August | २०८३ भदौ ४ बिहीबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

सङ्खुवासभाको घोर्ले झरना पर्यटकीय गन्तव्य बन्दै

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ ४ बिहीबार | (रासस)

सङ्खुवासभा, ४ भदौः सङ्खुवासभाको पाँचखपन नगरपालिका-१ स्थित घोर्ले झरना पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षक गन्तव्य बन्दै गएको छ । प्राकृतिक सौन्दर्य, मनोरम दृश्य र सहज पहुँचका कारण दैनिक सयौँ पर्यटक झरना अवलोकन गर्न यहाँ आउन थालेका हुन् । 

    विश्वकै होचो उपत्यका मानिने अरुण उपत्यका हुँदै, काँडेभ्याकुर पाइने क्षेत्र, विश्वकै पाँचौँ अग्लो मकालु हिमालको दृश्यावलोकन, घनाजङ्गल र वन्यजन्तुको प्राकृतिक वातावरण पार गर्दै पुगिने घोर्ले झरना अहिले नयाँ पर्यटकीय गन्तव्यका रूपमा परिचित बन्दै गएको हो । 

    कुसुवा खोलाबाट निर्मित १९१ मिटर अग्लो यो झरना तीन तहमा विभाजित छ । सबैभन्दा माथिल्लो छाँगा नौ मिटर, दोस्रो ६५ मिटर र अन्तिम ११७ मिटर अग्लो छ । अन्तिम छाँगा सबैभन्दा लामो भएकाले घाम लागेको समयमा प्रायः इन्द्रेणी देखिने र त्यसले झरनाको सौन्दर्यलाई झनै आकर्षक बनाउने स्थानीय बताउँछन्  । 

    माथिबाट खस्ने पानीको छहरा, हरियाली जङ्गल, चराचुरुङ्गीको चिरबिर आवाज र शान्त वातावरणले पर्यटकको मन लोभ्याउँछ । झरनामा वनभोज खान आउने, तस्विर, श्रव्यदृश्य सामग्री तथा टिकटक बनाउने र प्राकृतिक मनोरञ्जन लिन आउनेको सङ्ख्या दिनप्रतिदिन बढ्दै गएको पाँचखपन नगरपालिकाका प्रमुख विपिन राईले बताउनुभयो । 

    उहाँका अनुसार पछिल्लो समय सामाजिक सञ्जालमार्फत घोर्ले झरनाको प्रचारप्रसार हुनसँगै यहाँ आउने पर्यटकको सङ्ख्या वृद्धि भएको हो । पहिला दैनिक २०-३० जना आउने गरेकामा पछिल्लो समय यो सङ्ख्या १०० को हाराहारीमा पुग्ने गरेको उहाँले जानकारी दिनुभयो ।

    यहाँ घुम्न विराटनगरबाट आउनुभएकी एलिना बस्नेतले झरनाको प्राकृतिक सौन्दर्यले आफू प्रभावित भएको बताउनुभयो । सामाजिक सञ्जालमा झरनाको तस्विर र भिडियो देखेपछि यहाँ आउने इच्छा जागेको उहाँको भनाइ छ । “प्रत्यक्ष रूपमा तस्बिरभन्दा अझ सुन्दर दृश्य यहाँ छन् । स्वच्छ वातावरण, झरनाको आवाज र हरियालीले मन आनन्दित बनाउँछ”, उहाँले भन्नुभयो ।

    पाँचखपन नगरप्रमुख राईले घोर्ले झरनालाई नगरको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न पूर्वाधार निर्माण, प्रचारप्रसार तथा आवश्यक बजेट व्यवस्थापनमा प्राथमिकता दिएर काम गरिरहेको बताउनुयभो । प्रदेश सरकारसँगको सहकार्यमा पदमार्ग, विश्रामस्थल, सुरक्षा र अन्य आवश्यक संरचना निर्माणलाई अघि बढाइएको उल्लेख गर्दै झरनाले जिल्लाको पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । 

    पाँचखपन-१ का वडाध्यक्ष टेकबहादुर बुढाथोकीले घोर्ले झरनाको संरक्षणसँगै व्यवस्थित विकासमा स्थानीय समुदायको सक्रिय सहभागिता रहेको बताउनुयभो । झरना हेर्न आउने पर्यटकलाई सहज र सुरक्षित वातावरण उपलब्ध गराउन थप पूर्वाधार निर्माणको आवश्यकता रहेको उल्लेख गर्दै उहाँले यसको प्रचारप्रसार अझ प्रभावकारी बनाउन सके जिल्लाका अन्य पर्यटकीय गन्तव्यसँग जोडेर पर्यटन प्रवर्द्धन गर्न सकिने धारणा राख्नुभयो । 

    सदरमुकाम खाँदबारीबाट करिब तीन घण्टाको यात्रा गरेपछि घोर्ले झरनासम्म पुग्न सकिन्छ । बढ्दो पर्यटक आगमनले स्थानीय व्यापार, होटल व्यवसाय, रोजगारीका अवसर सिर्जना, स्थानीय उत्पादनको बजारीकरणलगायत क्षेत्रमा सकारात्मक प्रभाव पार्न थालेको वडाध्यक्ष बुढाथोकीले बताउनुभयो ।

    प्राकृतिक सुन्दरता जोगाउँदै व्यवस्थित विकास गर्न सके घोर्ले झरना सङ्खुवासभाको मात्र नभई कोशी प्रदेशकै प्रमुख पर्यटकीय गन्तव्यका रूपमा स्थापित हुने सम्भावना रहेको सरोकार भएकाहरू बताउँछन् । झरनासम्म पुग्ने सडक सहज भएकाले परिवार, साथीभाइ तथा समूहमा आउने पर्यटकको सङ्ख्या बढ्दै गएको स्थानीय बताउँछन् ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan