पोखरा पर्यटन प्रवर्द्धनमा नेपाल–बङ्गलादेश सहकार्य आवश्यक : नगर प्रमुख आचार्य
पोखरा ।पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग बङ्गलादेश फोटो पत्रकार सङ्घका अध्यक्ष ए.के.एम. मोहसिनको नेतृत्वमा नेपाल भ्रमणमा आएको फोटो पत्रकारहरूको टोलीले भेटवार्ता गरेको छ। भेटवार्ताका क्रममा पोखराको पर्यटन प्रवर्द्धन, नेपाल–बङ्गलादेशबीचको आपसी हित तथा जनस्तरमा सांस्कृतिक आदानप्रदानका विषयमा छलफल भएको थियो।
भेटका अवसरमा नगर प्रमुख आचार्यले अन्तर्राष्ट्रिय बजारमा पोखराको पर्यटन प्रवर्द्धनका लागि महानगरपालिकाले विभिन्न पर्यटकीय गतिविधि सञ्चालन गर्दै आएको जानकारी दिनुभयो। उहाँले बङ्गलादेशमा समेत पोखराको प्राकृतिक सुन्दरता, जीवन्त संस्कृति, आतिथ्यता तथा साहसिक पर्यटनका गतिविधिको सकारात्मक प्रचारप्रसार गरिदिन बङ्गलादेशी फोटो पत्रकारहरूलाई आग्रह गर्नुभयो।
पोखरा प्राकृतिक सौन्दर्य, संस्कृति र साहसिक पर्यटनका दृष्टिले महत्वपूर्ण गन्तव्य भएको उल्लेख गर्दै आचार्यले अन्तर्राष्ट्रिय पर्यटकलाई पोखरासम्म सहज रूपमा ल्याउन हवाई सम्पर्क विस्तार आवश्यक रहेको बताउनुभयो। पोखरा फ्लाई दुबईमार्फत विश्वका चर्चित गन्तव्यहरूसँग जोडिने क्रममा रहेको उल्लेख गर्दै उहाँले बङ्गलादेशबाट पोखरासम्म सम्भावित प्रत्यक्ष हवाई उडानका लागि बङ्गलादेश सरकारसमक्ष आवश्यक पहल तथा समन्वय गर्न फोटो पत्रकारहरूको टोलीलाई आग्रह गर्नुभयो।
उहाँले पर्यटन प्रवर्द्धन केवल सरकारी तहबाट मात्र सम्भव नहुने भन्दै सञ्चारकर्मी तथा फोटो पत्रकारहरूले आफ्ना माध्यमबाट कुनै पनि गन्तव्यको वास्तविक पहिचान विश्वसामु पुर्याउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो। पोखराका प्राकृतिक तथा सांस्कृतिक सम्पदालाई बङ्गलादेशमा प्रचार गर्न सके दुई देशबीचको पर्यटन सम्बन्ध थप विस्तार हुने उहाँको भनाइ थियो।
भेटका क्रममा बङ्गलादेशी फोटो पत्रकारहरूले पोखराको प्राकृतिक सौन्दर्य, वातावरण र यहाँको आतिथ्यता आफूहरूका लागि निकै आकर्षक लागेको बताएका थिए। पोखरा भ्रमणका क्रममा आफूहरूले देखेका सुन्दर दृश्य, स्थानीय संस्कृति र प्राप्त गरेको न्यानो आतिथ्यताको सन्देश बङ्गलादेशसम्म पुर्याउने उनीहरूले प्रतिबद्धता व्यक्त गरे।
बङ्गलादेशी टोलीका प्रतिनिधिहरूले पर्यटनका साथै नेपाल र बङ्गलादेशका पत्रकार तथा फोटो पत्रकारबीचको सम्बन्धलाई थप सुदृढ बनाउन यस्ता भ्रमणले महत्वपूर्ण भूमिका खेल्ने बताएका थिए। फोटोका माध्यमबाट दुई देशबीचको प्राकृतिक, सांस्कृतिक तथा सामाजिक सम्बन्धलाई विश्वसामु चिनाउन सकिने उनीहरूको धारणा थियो।
भेटवार्तामा बङ्गलादेश फोटो पत्रकार सङ्घका अध्यक्ष मोहसिनसहित महासचिव बाबुल तालुकदार, पूर्व अध्यक्ष ए.बी.एम. रफिकुर रहमान, वरिष्ठ सदस्य काजी रौनक हुसेन, पूर्व महासचिव नुरुद्दिन अहमद, पूर्व अध्यक्ष शफी उद्दिन अहमद बिटु, कार्यकारी सदस्य महबुब हुसेन खान नोबिन, कोषाध्यक्ष नासिम शिख्देर, वरिष्ठ सदस्य सैयद जाकिर हुसेन र बुलबुल अहमद, चट गाउँ जिल्ला शाखाका सदस्य मोहम्मद मिन्हाज उद्दिन तथा कक्स बजार जिल्ला शाखाका अध्यक्ष नुरुल इस्लाम हेलाली सहभागी हुनुहुन्थ्यो।
त्यसैगरी भेटवार्तामा NFPJ Nepal अध्यक्ष प्रदीपराज वन्त, महासचिव घनश्याम श्रेष्ठ, सदस्य अजय मानन्धर, कास्की शाखाका अध्यक्ष योगेन्द्र श्रेष्ठ, उपाध्यक्ष वसन्त थापा, सचिव प्रेम थापा, सुनिल पाण्डे र दुर्गाप्रसाद हुमागाईँलगायतको सहभागिता रहेको थियो।
नेपाल र बङ्गलादेशबीच पर्यटन, संस्कृति तथा सञ्चार क्षेत्रमा सहकार्यको सम्भावना बढिरहेका बेला भएको उक्त भेटवार्तालाई दुई देशबीच जनस्तरको सम्बन्ध विस्तार तथा नेपालको पर्यटन प्रवर्द्धनका लागि महत्वपूर्ण रूपमा हेरिएको छ। विशेषगरी फोटो पत्रकारहरूको माध्यमबाट पोखराका प्राकृतिक तथा सांस्कृतिक सम्पदाका दृश्य बङ्गलादेशको ठूलो जनसमुदायसम्म पुग्ने भएकाले यसले आगामी दिनमा बङ्गलादेशी पर्यटकलाई पोखरातर्फ आकर्षित गर्न योगदान पुर्याउने अपेक्षा गरिएको छ।

