धार्मिक पर्यटनको केन्द्र बन्दै ‘चोङ्सी’ गुफा
मुस्ताङ २७ साउनः धार्मिक तथा पर्यटकीय हिमालपारिको जिल्ला मुस्ताङमा दर्जनौ मानव निर्मित गुफा छन् । त्यस्तै प्राकृतिक रुपमा उत्पत्ति भएको एउटा महत्वपूर्ण गुफा पनि छ यहाँ ।
त्यो गुफा उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–२ स्याङवचे गाउँअवस्थित अग्लो पहाडको बीचमा छ । प्राकृतिक रुपमा स्वतः आफैँ उत्पत्ति भएरको उक्त गुफा चिउसीअर्थात् चोङ्सी गुफाका नामबाट प्रसिद्धि कमाएको छ ।
पवित्र धार्मिक तीर्थस्थल त्यस गुफाको दर्शन गरेमा मोक्ष प्राप्त हुने र दर्शनार्थीलाई परम स्वर्गको अनुभूति हुने भन्ने जनविश्वास छ । जोमसोम–कोरला सडकमार्गबाट तीन किलोमिटर तल रहेको त्यस गुफासंङ्खे आकारको ढुङ्गाबाट प्राकृतिक रुपमा उत्पत्ति भएकाले यसलाई चोङ्सी गुफा भन्ने गरिएको स्थानीयको भनाइ छ ।
प्राकृतिक रुपमा उत्पत्ति भएकाले चोङ्सी गुफालाई स्थानीयले चोङ्सी रामजोन समेत भन्ने गरेको पाइन्छ । आठौँ शताब्दी ताका गुरु पद्यसम्भवअर्थात् रिन्पोर्छेले तिब्बत जाने क्रममा यहाँको चोङ्सी गुफामा ध्यान तपस्या गरी बसेको भन्ने इतिहास पाइन्छ । गुफाभित्रको चट्टानमा गुरु पद्यसम्भवको पैतालाको छाप समेत रहेको चोङ्सी गुफाका लामा बताउनुहुन्छ ।
चोङ्सी गुफा केवल गुफा मात्रै नभई धार्मिक आस्थाको केन्द्र रहेको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका अध्यक्ष रिङजिन नामगेल गुरुङले उल्लेख गर्नुभयो ।
उहाँका अनुसार सडकमार्ग नहुँदा पनि उक्त चोङ्सी गुफामा दर्शन तथा अवलोकन गर्न धार्मिक भक्तजन मात्र पुग्ने गरेकामा पछिल्लो स्वदेशी तथा विदेशी पर्यटक समेत आउने गरेको अध्यक्ष गुरुङले जानकारी दिनुभयो ।
त्यस गुफामा गुरु पद्यसम्भवसंग जोडिएका र अन्य धेरै धार्मिक विशेषता अवलोकन गर्न सकिन्छ । गुफाभित्रको पश्चिम भागमा हरित तारा र स्वेत तारा अवस्थित छ । प्राकृतिक रुपमा उत्पत्ति भएकाले स्थानीयले यसलाई ठोम भन्ने गरेको सुनिन्छ । गुफा तीन खण्डमा विभाजित छ । गुफा भित्र बुद्धको चारवटा स्वरुप रहेको वारागुङ मुक्तिक्षेत्रका अध्यक्ष रिनजिन नामगेल गुरुङले जानकारी दिनुभयो । उक्त स्वरुपलाई बुद्धको अवलकेश्वरको रुपमा दर्शन गर्ने परम्परा छ ।
त्यस गुफाभित्र दुईवटा छुट्टाछुट्टै चट्टानका थुम्का छन् । गाउँपालिका अध्यक्ष गुरुङका अनुसार उक्त थुम्कालाई एकलाई माउण्ट कैलाश र अर्को थुम्कोलाई आयु देवताको रुपमा पुज्ने गरिएको छ । अध्यक्ष गुरुङका अनुसार माउण्ड कैलाश पहाड तिब्बतमा अवस्थित रहे पनि चोङ्सी गुफामा अवस्थित माउण्ड कैलाश थुम्कोलाई त्यसको एक अंशको रुपमा लिने गरिएको छ । त्यस्तै अर्को थुम्कोलाई आयु देवताको रुपमा पुज्ने गरिएको छ । स्थानीयले गुफा भित्रको आयु थुम्कोलाई ठेगुम भन्ने गरेको पाइन्छ ।
गुफाको दोस्रो खण्डको चट्टानी खोपीमा गुरु पद्यसम्भव निकटका देवीदेवताको वासस्थान रहेको जनविश्वास छ । गुफाको दोस्रो खण्डमा पूजाआजा गर्ने ठाउँ छ । गुफाभित्र महाँकाल, नागदेवता र पाप पूण्य मापन गर्ने ठाउँ छन् । गुफामा ठुलो एक ढुङ्गा छ, जसलाई दुई हातले अँगालो हाल्न सक्ने दर्शनार्थीले मातापिताको सेवा गरेको ठहरिने र त्यो नसक्नेले सेवा गर्न नसकेको भन्ने धार्मिक जनविश्वास छ ।
बुद्धिसं धार्मिक ग्रन्थहरुमा त्यस गुफाको माथिल्लो भागमा चरा र गुरुडको तिर्थ गर्ने ठाउँ रहेको उल्लेख छ । चरा र गरुड तीर्थ गर्ने ठाउँमा केहीले मात्रै दर्शन गरेको बताइछ । पवित्र जल रहेको गुफामा प्वाल पारिएका छिद्रछिद्र आधा दर्जन बढी प्वाल देख्न सकिन्छ । सोही प्वालमा पवित्र जल भेट्न सकिन्छ । डाडुजस्तो साधन प्रयोग गरी प्वालभित्रबाट उभाउँदा जल प्राप्त गर्न सकिन्छ । त्यहाँका पवित्र जल पिउनाले ग्याष्टिकलगायत पेटसम्बन्धी रोग निको हुने जनविश्वास रहेको छ ।
मुस्ताङको पवित्र धार्मिक तीर्थस्थल त्यस गुफासम्म साङ्वचेदेखि गुफा नजिकसम्म कच्ची सडक जोडिएकाले त्यहाँ जाने दर्शनार्थी तथा पर्यटकलाई निकै सहज भएको लोघेकर दामोदरकुण्ड गाउँपालिका अध्यक्ष लोप्साङ छोम्फेल विष्टले जानकारी दिनुभयो ।
अध्यक्ष विष्टका अनुसार विगतमा मुस्ताङको समरदेखि पैदल तीन घण्टाको दूरी तय गर्दै गुफासम्म जाने गरिएकामा पछिल्लो समय स्याङ्वचेबाट सडक विस्तार गरिएकाले १५ मिनेटमै त्यहाँ पुग्न सकिनेछ ।
