चौथो ताप्लेजुङ गोल्डकपः पर्यटकीय क्षेत्रबाट खेल तालिका सार्वजनिक
ताप्लेजुङ, ४ भदौः यहाँ सञ्चालन हुने अन्तरराष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकपको खेल तालिका सार्वजनिक गरिएको छ । खेलसँगै पर्यटन प्रवर्द्धनमा टेवा पुर्याउने उद्देश्यले प्रतियोगिताको तालिका फक्ताङलुङ गाउँपालिकास्थित सिङ्जेमा ताल, साम्दो पोखरी, दिकीछ्योखोर्लिङ गुम्बा तथा मिक्वाखोलाको पापुङस्थित लोदेन क्षेत्रमा पुगेर सार्वजनिक गरिएको हो ।
आयोजक लाखेजात्रा सञ्चालन समितिका अध्यक्ष सागर मादेनका अनुसार सार्वजनिक खेल तालिकाअनुसार भदौ १२ गते ताप्लेजुङ-११ र भारतको जर्जियन युनाइटेड फुटबल क्लबबीच उद्घाटन खेल हुनेछ । त्यस्तै भदौ १३ गते चित्लाङ फुटबल क्लब (मकवानपुर) र फिदिम स्पोर्टिङ क्लब (पाँचथर) बीच खेल हुनेछ ।
भदौ १४ गते सातदोबाटो फुटबल क्लब (ललितपुर) र सलहेश युवा क्लब (सिरहा), भदौ १५ गते झापा-११ र नेपाल पुलिस क्लबबीच खेल हुनेछ । सलहेश युवा क्लब गत वर्षको विजेता टोली हो । प्रतियोगिताका सेमिफाइनल खेल भदौ १६ र १७ गते तथा फाइनल खेल भदौ १९ गते सञ्चालन हुने आयोजकले जनाएको छ ।
प्रतियोगिताको विजेताले रु सात लाख ५२ हजार ८३ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेताले रु तीन लाख ५२ हजार ८३ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
लाखेजात्रा पर्वको अवसरमा विसं २०२९ देखि कञ्चनजङ्घा, पाथीभरालगायत विभिन्न नाममा यो प्रतियोगिता सञ्चालन हुँदै आएको छ । ताप्लेजुङ गोल्डकप पूर्वी पहाडी क्षेत्रको बहुप्रतिक्षित फुटबल प्रतियोगिताका रूपमा स्थापित छ । प्रतियोगिता हेर्न झापा, इलाम, पाँचथर, तेह्रथुमलगायत जिल्लाबाट दर्शक आउने समितिका अध्यक्ष मादेनले बताउनुभयो ।
यस वर्ष प्रतियोगिता अवलोकन गर्ने दर्शकका लागि टिकट दरसमेत निर्धारण गरिएको अध्यक्ष मादेनले बताउनुभयो । उहाँका अनुसार क्वार्टरफाइनलका लागि रु २००, सेमिफाइनलका लागि रु ३०० र फाइनलका लागि रु ५०० टिकट दर निर्धारण गरिएको छ ।
