Tuesday 25th of August | २०८३ भदौ ९ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

संरक्षण नहुँदा लिम्बू सङ्ग्रहालय ओझेलः प्रचारप्रसार पर्खाइमा

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ ८ सोमबार | (रासस)

ताप्लेजुङ, ८ भदौः जिल्लाको सिरिजङ्घा गाउँपालिका-६ मामाङ्खेमा रहेको लिम्बू सङ्ग्रहालय उचित व्यवस्थापन, संरक्षण र प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ । लिम्बू समुदायको मौलिक पहिचान, इतिहास, संस्कृति र परम्परा झल्काउने ऐतिहासिक तथा सांस्कृतिक सामग्री सङ्कलन गरी विसं २०६३ मा स्थापना गरिएको यो सङ्ग्रहालय अहिले संरक्षण र प्रवर्द्धनको पर्खाइमा छ । 

    स्थानीय समाजसेवी कैलाशा माबो (लिम्बू) का अनुसार पर्याप्त बजेटको अभावका कारण सङ्ग्रहालयको थप जीर्णोद्धार, व्यवस्थापन तथा प्रचारप्रसार हुन सकेको छैन । उहाँले ग्रामीण क्षेत्रमा रहेकाले प्रचारप्रसारको कमीका कारण सङ्ग्रहालय गुमनाम जस्तै बनेको बताउनुभयो । सङ्ग्रहालय व्यवस्थापन र रेखदेखका लागि यसअघि गठन गरिएको समिति विघटन भइसकेको जनाउँदै उहाँले नयाँ समिति गठन हुन नसकेको बताउनुभयो । 

    नियमित व्यवस्थापन र संरक्षणका लागि स्थानीय तहबाट आवश्यक पहल हुनुपर्ने स्थानीयको माग छ । सङ्ग्रहालय कञ्चनजङ्घा पदमार्ग क्षेत्रमा पर्ने भएकाले यहाँ अवलोकनका लागि विदेशी पर्यटक पुग्ने गरेका छन् । सडकको स्तरोन्नतिसँगै प्रचारप्रसार, भौतिक पूर्वाधार निर्माण तथा व्यवस्थापनमा सुधार गर्न सके आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढाउन सकिने माबोले विश्वास व्यक्त गर्नुभयो ।  

    ‘गरिबी निवारणका लागि पर्यटन’ कार्यक्रम तथा तत्कालीन गाविसबाट प्राप्त आर्थिक सहयोगमा निर्माण गरिएको सङ्ग्रहालयको थप स्तरोन्नतिका लागि स्थानीय सरकारले समयसमयमा बजेट छुट्याउँदै आए पनि पर्याप्त नभएको स्थानीयको भनाइ छ ।

    यहाँ लिम्बू समुदायको इतिहास, संस्कृति, परम्परा र जीवनशैलीसँग सम्बन्धित महत्त्वपूर्ण सामग्री संरक्षण गरेर राखिएका माबोले जानकारी दिनुभयो । “सङ्ग्रहालयमा करिब १०० वर्षअघि फेदाङ्मा तथा बिजुवाहरूले प्रयोग गर्ने जामा, पगरीलगायत समुदायको जन्मदेखि मृत्युसम्मका विभिन्न संस्कारमा प्रयोग हुने २०० भन्दा बढी सामग्री सुरक्षित राखिएका छन्”, उहाँले भन्नुभयो ।

    लोप हुँदै गएका मौलिक सामग्री, संस्कृति र परम्परालाई भावी पुस्ताका लागि सुरक्षित राख्ने उद्देश्यले थप सामग्री सङ्कलन गरी व्यवस्थापन गर्ने योजना रहेको माबोले बताउनुभयो । यहाँ केही महत्त्वपूर्ण सामग्रीको अभाव रहेकाले तिनको खोजी तथा सङ्कलन भइरहेको स्थानीयले बताएका छन् । 

    स्थानीयका अनुसार सङ्ग्रहालयको नियमित रेखदेख, प्रभावकारी व्यवस्थापन तथा व्यापक प्रचारप्रसार गर्न सके लिम्बू समुदायको इतिहास र संस्कृतिको संरक्षण हुनुका साथै स्थानीय पर्यटन प्रवर्द्धनमा समेत महत्वपूर्ण योगदान पुग्नेछ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan