उदयपुर र चितवनबाट तीन सय ६७ किलो गाँजासहित तीन जना पक्राउ
काठमाडौँ, ८ भदौः नियमित गस्तीमा रहेको प्रहरी टोलीले उदयपुर र चितवनबाट तीन सय ६७ किलो गाँजासहित तीन जनालाई पक्राउ गरेको छ ।
केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार उदयपुरको कटारी नगरपालिका–४ मरुवा खोला नजिकबाट एक सय ९९ किलो तीन सय २० ग्राम गाँजासहित रुपन्देहीका २१ वर्षीय सोम मगरलाई गए राति पक्राउ गरिएको हो ।
निजले टिपर ढालाभित्र लुकाइछिपाइ राखेका नौ वटा बोराबाट उक्त परिमाणको गाँजा फेला पारेको हो ।
यसैगरी, चितवनको राप्ती नगरपालिका–१० चिप्लेटीबाट करिब एक सय ६८ किलो गाँजासहित दुई जनालाई आज बिहान पक्राउ गरिएको छ ।
नवलपरासी पूर्वको गैँडाकोट नगरपालिका–२ भिर्कुटीचोकका डिल्लीराम थारू र चितवनको राप्ती नगरपालिका–१ पिप्लेका कर्णबहादुर तामाङलाई उनीहरू सवार कारबाट गाँजासहित पक्राउ गरिएको हो ।
