Tuesday 25th of August | २०८३ भदौ ९ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

गाउँको सेवा काठमाडौँबाट पाएपछि ज्येष्ठ नागरिक हर्षित

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ ८ सोमबार | (रासस)

काठमाडौँ, ८ भदौः नुवाकोटको शिवपुरी गाउँपालिका-८ ले ज्येष्ठ नागरिकलाई वडामा दिँदै आएको सेवा काठमाडौँबाट दिएपछि उक्त वडामा घर भई काठमाडौँ बस्दै आएका ज्येष्ठ नागरिक हर्षित भएका छन् । काठमाडौँ बस्ने शिवपुरी-८ का स्थायी ज्येष्ठ नागरिकालाई सामाजिक सुरक्षा भत्ताको सुविधा यहाँबाट दिएसँगै ज्येष्ठ नागरिक हर्षित भएका हुन् ।

    शिवपुरी-८ थानापति सिलवालथोकका ८४ वर्षीय टङ्कप्रसाद सिलवाल सामाजिक सुरक्षा भत्ताको नवीकरणका लागि आफू गाउँ जान नपरेपछि यात्राको समस्या अन्त्य भएको बताउनुभयो । “वर्षातको समय गाउँमा जानका लागि समस्या हुन्थ्यो, वडा यहीँ आएर सेवा दिँदा झन्टट अन्त्य भएको छ”, उहाँले  भन्नुभयो । 

    शिवपुरी-८ सत्तरी घर भएका ७२ वर्षीय रमेशप्रसाद कँडेल पनि सारै खुसी देखिनुहुन्थ्यो । “वृद्ध भत्ता लिनका लागि नवीकरण गर्नुपर्ने थियो । गाउँमा जाने योजना भए पनि वडाले यहीँबाट सेवा दिएकामा सारै खुसी छु”, उहाँले भन्नुभयो । शिवपुरी-८ काफ्लडाँडाकी ७४ वर्षीया शिलादेवी थपलिया गाउँको सेवा काठमाडौँबाटै पाउँदा हर्षित हुनुहुन्छ । “छोरासँग नुवाकोट जाने योजना बनाएको थिएँ, वडाध्यक्षले त्यहीँ आएर सेवा दिन्छौँ भनेपछि यात्राको समस्या सकियो”, उहाँले भन्नुभयो ।

    माथि उल्लेखित नाम केवल प्रतिनिधिपात्र मात्र हुन् । चार सयभन्दा बढी ज्येष्ठ नागरिक रहेको शिवपुरी-८ मा हाल १५० भन्दा बढी काठमाडौँमा बस्नुहुन्छ । शिवपुरी-८ का वडाध्यक्ष केशवप्रसाद रिजालले बर्खाको समयमा बाटोको कठिनाइ र अन्य विभिन्न कारणले गाउँसम्म जान समस्या हुने भएपछि वडा कार्यालयले काठमाडौँबाटै सेवा प्रदान गरेको बताउनुभयो ।

    उहाँले काठमाडौँमा आाएर ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ताको नवीकरण र बायोमेट्रिक गर्ने व्यवस्था मिलाएको बताउनुभयो । “नागरिकलाई सहज रूपमा सेवा दिनु स्थानीय सरकारको मुख्य उद्देश्य हो । उहाँहरूलाई गाउँसम्म पुग्न सास्ती नहोस् भनेर काठमाडौँमै बसेर सेवा दिइरहेका छौँ”, वडाध्यक्ष रिजालले भन्नुभयो । उक्त वडाले काठमाडौँको बसुन्धरामा रहेर दुई दिन सेवा प्रदान गर्ने उहाँले जानकारी दिनुभयो ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan