ज्ञवालीलाई यस वर्षको डा हरिहरदेव पन्त आर्थिक पत्रकारिता पुरस्कार
काठमाडौँ, १६ भदौ : स्वर्गीय डा. हरिहरदेव पन्तको स्मृतिमा स्थापित आर्थिक पत्रकारिता पुरस्कार यस वर्ष ‘लगानी न्यूज डटकम’ का सम्पादक आशीष ज्ञवालीलाई प्रदान गरिने भएको छ ।
डा हरिहरदेव पन्त फाउन्डेशनद्वारा स्थापना गरिएको उक्त पुरस्कार डा पन्तको ११ औँ वार्षिक पुण्य स्मृति दिवस पारेर यही भदौ २१ गते प्रदान गरिनेछ ।
जीवनका अधिकांश समय देशमा आर्थिक विकास तथा गरिबी न्यूनीकरण गर्नका लागि समर्पित लघुवित्तका प्रथम प्रवर्द्धक डा हरिहरदेव पन्तको स्मृतिमा उक्त पुरस्कार स्थापना गरिएको थियो ।
यस फाउन्डेशनले प्रत्येक वर्ष एक जना उत्कृष्ट आर्थिक पत्रकार वा सङघ, संस्थालाई आर्थिक पत्रकारिता पुरस्कार प्रदान गर्दै आएको छ । पत्रकारितामार्फत देशको सर्वाङ्गीण विकासका साथै आर्थिक विकासमा महत्वपूर्ण योगदान पुर्याउने विभिन्न पत्रपत्रिका, रेडियो, टेलिभिजन, अनलाइन समाचार तथा पत्रकारलाई सम्मान गरिँदै आएको छ ।
साथै फाउन्डेशनद्वारा सञ्चालित डा हरिहरदेव पन्त आर्थिक पत्रकारिता पुरस्कार कार्यक्रमअन्तरर्गत आर्थिक क्षेत्रका सन्देशमूलक आर्थिक समाचार सम्प्रेषण तथा प्रसारण गर्ने पत्रकार वा सङ्घ संस्थाहरू मध्येबाट यस वर्षको डा. हरिहरदेव पन्त आर्थिक पत्रकारिता पुरस्कारका लागि विगत २० वर्षदेखि आर्थिक क्षेत्रमा कलम चलाउँदै आउनुभएका ज्ञवालीलाई पुरस्कार स्वरूप रु एक लाखनगदसहित सम्मान–पत्र प्रदान गर्न लागिएको हो । फाउण्डेशनले २०७४ सालदेखि आर्थिक पत्रकारिता पुरस्कार प्रदान गर्दै आएको छ ।
