बाढी प्रभावित तीन जिल्लामा सशस्त्र प्रहरीका १२ अस्थायी बेस, विशेष उद्धार टोली परिचालन
काठमाडौं । बाढी प्रभावित नुवाकोट, रसुवा र धादिङमा सशस्त्र प्रहरी बल नेपालले १२ वटा अस्थायी बेस स्थापना गरी खोज तथा उद्धार कार्यलाई थप प्रभावकारी बनाएको छ।
सशस्त्र प्रहरीका अनुसार धादिङमा २, नुवाकोटमा ६ र रसुवामा ४ वटा अस्थायी बेस स्थापना गरिएको हो। धादिङमा मलेखु र गल्छी, नुवाकोटमा देवीघाट, कोलोनी, रातमाटे, तारकेश्वर, बेत्रावती र तारुका तथा रसुवामा त्रिशूली हाइड्रो ३ए, त्रिशूली हाइड्रो ३बी, स्याफ्रुबेँसी र बोगटिटारमा अस्थायी बेस स्थापना गरिएका छन्।
उद्धार कार्यलाई थप प्रभावकारी बनाउन ती बेसमध्ये धादिङको मलेखु र नुवाकोटको तारकेश्वरमा मेडिकल टोलीसमेत परिचालन गरिएको छ। प्रत्येक बेसमा आवश्यकताअनुसार १५ देखि ३५ जनासम्मको उद्धार टोली खटाइएको छ। टोलीमा विशेष तालिमप्राप्त उद्धारकर्मीसमेत रहेका छन्।
सशस्त्र प्रहरीले बाढी तथा पहिरोबाट प्रभावित क्षेत्रमा सामान्य उद्धार टोलीसँगै अत्याधुनिक तथा विशेष दक्षता भएका जनशक्ति र उपकरणसमेत परिचालन गरेको जनाएको छ।
बेसहरूमा कोल्याप्स्ड स्ट्रक्चर सर्च एन्ड रेस्क्यु (सीएसएसआर), मेडिकल फस्ट रेस्पोन्डर (एमएफआर), के–९ डग स्क्वाड, ड्रोन, रोप रेस्क्यु, डेड बडी म्यानेजमेन्ट, गोताखोर, स्विफ्ट वाटर रेस्क्यु टिम तथा मास क्याजुअल्टी भेहिकल (एमसीभी) लगायतका विशेष टोली र साधन परिचालन गरिएको छ।
बाढीपछि दुर्गम तथा जोखिमयुक्त क्षेत्रमा समेत उद्धार पहुँच विस्तार गर्न अस्थायी बेस स्थापना गरिएको सशस्त्र प्रहरीले जनाएको छ। नदीको भेलले सडक र बस्तीको सम्पर्क टुटाएको अवस्थामा नजिकैबाट उद्धार टोली परिचालन गर्न सकिने भएकाले यी बेसहरू खोज, उद्धार, उपचार तथा शव व्यवस्थापनका लागि महत्वपूर्ण आधार बनेका छन्।
