Tuesday 1st of September | २०८३ भदौ १६ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

झाङ्मु पोर्ट अनिश्चितकालको लागि बन्द

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ १६ मंगलबार |

सिन्धुपाल्चोक, १६ भदौः  चीन सरकारले नेपाल–चीन बीचको उत्तरी नाका तातोपानी पारी रहेको झाङ्मु पोर्ट अनिश्चितकालको लागि बन्द गरिएको जानकारी इमेलमार्फत दिएको छ । 

सम्भावित विपद्लाई ध्यान दिँदै चीन सरकारले तातोपानी भन्सार कार्यालयका भन्सार अधिकृत तुलबहादुर पाण्डेलाई सो जानकारी दिनुभएको हो । 

“हामीलाई उहाँहरुले छोटो इमेल गर्नुभएको छ”, पाण्डेले चिनियाँ अधिकारीले पठाएको इमेललाई उदृत गर्दै भन्नुभयो, “हामीले केही समयको लागि झाङ्मु पोर्ट बन्द गरेका छौँ , कहिले खोल्छौँ भन्ने जानकारी अर्को इमेलमा गराउनेछौँ भनिएको छ ।”

रसुवामा आएको बाढीजस्तै तातोपानी नाका भएर बग्ने भोटेकोशीमा पनि बाढी आउनसक्ने अनुमान गरेर चिनियाँ पक्षले नाकाबन्द गरेको हुन सक्ने पाण्डेको भनाइ छ । 

उहाँका अनुसार चिनियाँ अधिकारीले रसुवा बाढी र त्यसले पु¥याएको क्षतिलाई मध्यनजर गरी झाङ्मु पोर्टबाट भन्सार कार्य बन्द गर्नुको साथै त्यहाँका कर्मचारी प्रशासनलाई माथिल्लो सुरक्षित क्षेत्रमा सारिएको छ । 

चिनियाँपक्षले सेप्टेम्बर ३ तारिकसम्म खासामा निर्माण कार्य गर्नुपर्ने भएकाले केही दिन अघिदेखि कन्टेनर पठाउन रोक्ने निर्णय गरेको थियो । 

चिनियाँ पक्षले कार्गो आवागमनसमेत अस्थायी रूपमा रोकिएको जानकारी दिएको छ । नाका कहिलेदेखि पुनः सञ्चालन हुनेबारे बताइएको छैन । 

भन्सार अधिकृत पाण्डेले चिनियाँपक्षले खुल्ने बित्तिकै नयाँ सूचना दिने बताएको जानकारी दिनुभयो । रसुवागढी बाढीले बगाएसँगै तातोपानी नाकालाई विकल्पका रूपमा हेरिएको थियो । 

तातोपानी नाकासमेत बन्द भएपछि नेपाल–चीन व्यापारको विकल्प साघुँरिएको छ । दशैँ र तिहार नजिकै आएको अवस्थामा यो निर्णयले नेपाललाई असर पर्ने यहाँका  व्यवसायीहरुको भनाइ छ ।

न्यालम काउन्टीमा रहेको झाङ्मु पोर्टवारीको तातोपानी नाकाबाट असार ३१ मा आएको पहिरोका कारण दुई देशबीच आयात निर्यात हुन सकेको थिएन । 

अरनिको राजमार्ग अन्तरगतको बाह्रबिसे कोदारी खण्डको २६ किलोमिटर सडक खण्डका विभिन्न स्थानमा पहिरोले सडक बिग्रिएपछि नाकाबाट ढुवानी लगभग बन्द जस्तै थियो ।

सडक विभागले टोली खटाएर मर्मतको काम गरेपछि ४० दिनपछि अस्थायी रुपमा सडक सञ्चालन भएको थियो । त्यसपछि पछिल्लो पटक भदौ १२ गते तातोपानी नाकाबाट आठवटा कन्टेनर नेपाल भित्रिएका थिए ।

झाङ्मु पोर्ट बन्दगरिए पछि नेपाल भित्रने मालवाहक कन्टेनर न्यालममै रोकिएका छन् । लामो समयदेखि काम विहीन भएका चिनियाँ ट्रान्सपोर्ट कम्पनीमा कार्यरत कर्मचारीसमेत बिचल्लीमा परेका छन् । 

खासा भन्दा माथि न्यालम र थिङ्रीमा फलफूलबोकेका ६० वटा कन्टेनर ४५ दिनदेखि अलपत्र परेका छन् । ती फलफूल एसी कन्टेनरमा भएकाले सुरक्षित छन् । तर, लामो समय त्यहाँ रहँदा पार्किङ भाडाका कारण मूल्य वृद्धि हुने अवस्था रहेको नेपाल हिमालय सीमापार वाणिज्य सङ्घका उपाध्यक्ष सुजित बस्नेतले बताउनुभयो ।

उहाँका अनुसार ४० करोड रुपैयाँ बराबरको फलफूल चिनियाँ क्षेत्रमा छ । दशैँ–तिहार लक्षित फलफूल आयातमा यसपटक धेरै समस्या भोग्नुपर्ने अवस्था सिर्जना भएको उहाँको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan