राज्यको सम्पूर्ण शक्ति नागरिकको जीवन रक्षा गर्न प्रभावित क्षेत्रमा खटिएको छः प्रवक्ता पोखरेल
काठमाडौँ, १५ भदौः नेपाल सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि उत्पन्न विपद्मा नागरिकको जीवनरक्षा गर्न राज्यको सिङ्गो शक्ति प्रभावित क्षेत्रमा खटिएको बताउनुभएको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले विगत छ दिनदेखि राज्यको सिङ्गो शक्ति प्रभावित क्षेत्रमा खोज तथा उद्धारमा खटिरहेको बताउँदै उहाँले आफ्नो पहिलो प्राथमिकता नागरिकको जीवन रक्षा गर्नु रहेको उल्लेख गर्नुभयो ।
प्रवक्ता पोखरेलका अनुसार नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालका सुरक्षाकर्मीहरू रातदिन नभनी स्थलगत रूपमा खटिएका छन् । नेपाली सेना र निजी क्षेत्रका हेलिकप्टरहरू परिचालित हुनुका साथै आवश्यकतालाई मध्यनजर गरी तयारी अवस्थामा पनि राखिएको उहाँले जानकारी दिनुभयो । “जहाँ-जहाँ नागरिक फसेका छन् त्यहाँ र जहाँ हेलिकप्टर अवतरण गर्न सक्ने भौगोलिक अवस्था छ, त्यहाँ टोली तुरुन्तै पुगेर उद्धार कार्य गरिरहेको छ”, उहाँले भन्नुभयो ।
सरकारका प्रवक्ता पोखरेलका अनुसार केहीबेर अघिसम्म ११ हजार ३७९ जनाको उद्धार गरिएको छ । खोज तथा उद्धारमा २१ हजार ८०० सुरक्षाकर्मी परिचालन गरिएको उहाँले जानकारी दिनुभयो । “बाढीमा परी घाइते भएका सम्पूर्ण नागरिकको काठमाडौँ र देशका अन्य अस्पताल तथा स्वास्थ्य संस्थामा निःशुल्क उपचार भइरहेको छ । उपचारपश्चात् केहीबेर अघिसम्म १६८ जना डिस्चार्ज भइसक्नुभएको छ । प्रभावित क्षेत्रमा महामारी फैलन नदिन विशेष मेडिकल टोली र औषधि परिचालन गरिएको छ । नागरिकको स्वास्थ्य र जीवन रक्षामा हामी निरन्तर लागिरहेका छौँ”, उहाँले भन्नुभयो ।
मन्त्री पोखरेलले बाढी गएको खबर पाउनसाथ प्रधानमन्त्रीको निर्देशनमा गृहमन्त्रीसँगको समन्वयमा तत्कालै जिल्ला प्रशासन कार्यालयसँगको समन्वयमा सबै किमिसका सुरक्षाकर्मी परिचालन गरी उद्धार कार्य सुरु गरिएको उल्लेख गर्नुभयो । विकट ठाउँ, प्रतिकूल मौसम र बाढीका कारण हेलीकप्टर राख्ने ठाउँ खोज्न कठिन हुँदा पनि कुनै कसर बाँकी नराखी निरन्तर उद्धार कार्यलाई अघि बढाइएको उहाँको भनाइ छ ।
“सरकारले सङ्कलन गरेको राहत वितरण गर्न सकेन वा प्रधानमन्त्री कार्यालयले जिम्मेवारीबाट हात झिक्यो भन्ने कुरा पूर्णतः निराधार र भ्रामक हो । भदौ १४ गते विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुखलाई बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा आउनुभएको थियो । उहाँहरूबीच राहत वितरणलाई कसरी थप प्रभाकारी बनाउने भन्ने विषयमा छलफल भएको थियो । विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन ऐन, २०७४ अनुसार यस्तो विपद्मा नागरिकको खोज उद्धार, व्यवस्थापन तथा राहत वितरणमा प्रदेश तथा स्थानीय तहको पनि भूमिका तोकिएको छ । सोहीअनुसार काम गर्ने विषयमा छलफल भएको हो”, प्रवक्ता पोखरेलले भन्नुभयो ।
विदेशी सञ्चारमाध्यम र पत्रकारलाई सूचना र पहुँचमा कुनै रोक नलगाएको उहाँले स्पष्ट पार्नुभयो । यद्यपि अहिले उद्धारका लागि हवाई सुरक्षा र अत्यधिक ‘एयर ट्राफिक’ का कारण एकैपटक धेरै हेलिकप्टर उडाउन सुरक्षाका दृष्टिले जोखिमपूर्ण छ । हवाई सुरक्षाको प्राविधिक मापदण्डलाई ध्यानमा राख्दै उडानहरू सञ्चालन र व्यवस्थित गरिएकाले यसलाई अन्यथा नलिन उहाँले सबैमा अनुरोध गर्नुभयो ।
उद्धारमा समयमै अन्तरराष्ट्रिय मुलुकको सहयोग नलिएको भन्ने गुनासोको सन्दर्भमा उहाँले भन्नुभयो, “विपद् लगत्तै पर राष्ट्रन्त्रालयमार्फत निरन्तर समन्वय भइरहेको थियो । त्यसैको परिणामस्वरुप आवश्यकताअनुसार हामीले भारत, चीन, कोरियालगायत मुलुकबाट टोली आएर प्रभावित क्षेत्रमा उद्धार तथा खोजमा सहयोग गरिरहनुभएको छ ।”
