ग्रामीण र दुर्गम क्षेत्रमा गुणस्तरीय इन्टरनेट विस्तार सरकारको प्राथमिकता छः सञ्चारमन्त्री तिमिल्सिना
काठमाडौँ, २१ असोजः सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले सरकारले डिजिटल रूपान्तरणलाई प्राथमिकतामा राख्दै ग्रामीण, दुर्गम तथा हिमाली क्षेत्रमा गुणस्तरीय र भरपर्दो इन्टरनेट सेवा विस्तारमा जोड दिएको बताउनुभएको छ ।
ईन्टरनेट गभर्नेन्स इन्सिच्युट (आईजीआई)ले १७ औँ एसिया प्यासिफिक रिजनल ईन्टरनेट गभर्नेन्स फोरम–२०२६ को समापन समारोहलाई सम्बोधन गर्नुहुँदै सञ्चारमन्त्री डा तिमिल्सिनाले डिजिटल प्रविधिले नागरिकको शिक्षा, सञ्चार, व्यवसाय, सार्वजनिक सेवा तथा सार्वजनिक जीवनमा सहभागितालाई सहज बनाउँदै गएको बताउनुभयो ।
उहाँले नेपालको भौगोलिक विविधताका कारण विशेषगरी ग्रामीण, दुर्गम र हिमाली क्षेत्रमा इन्टरनेट पहुँच विस्तार चुनौतीपूर्ण भए पनि सरकारले यसलाई प्राथमिकतामा राखेको बताउनुभयो । इन्टरनेटको पहुँच विस्तारसँगै सेवाको गुणस्तर, विश्वसनीयता र सबलता सुनिश्चित गर्न पनि सरकार प्रतिबद्ध रहेको उहाँको भनाइ थियो ।
“डिजिटल रूपान्तरणको उद्देश्य देशलाई डिजिटल बनाउनु मात्र नभै डिजिटल प्रविधिमार्फत नागरिकको जीवनमा सुधार ल्याउनु पनि हो,” सञ्चारमन्त्री तिमिल्सिनाले भन्नुभयो । उहाँले इन्टरनेटको पहुँच मात्र विस्तार गरेर नपुग्ने बताउँदै नागरिकले आवश्यक परेको समयमा भरपर्दो र गुणस्तरीय सेवा पाउनुपर्नेमा जोड दिनुभयो । व्यवसायका लागि विश्वसनीय सञ्जाल, सार्वजनिक सेवाका लागि निरन्तर सञ्चार तथा विपद्का समयमा सञ्चालनमा रहने सञ्चार प्रणाली आवश्यक रहेको उहाँले बताउनुभयो ।
सञ्चारमन्त्री तिमिल्सिनाले हालैको रसुवा भोटेकोशी–त्रिशूली विपद्ले सञ्चार पूर्वाधारको महत्त्व थप उजागर गरेको उल्लेख गर्नुभयो । सडक तथा अन्य भौतिक संरचना क्षतिग्रस्त हुँदा, समुदाय एकअर्काबाट अलग हुँदा र उद्धार तथा राहतमा समन्वय आवश्यक पर्दा सञ्चार सेवा अत्यावश्यक हुने उहाँको भनाइ थियो ।
उहाँले डिजिटल प्रविधिबाट ग्रामीण क्षेत्रका विद्यार्थीले विश्वभरको ज्ञानमा पहुँच पाउन सक्ने, किसानले बजार तथा मौसमसम्बन्धी सूचना प्राप्त गर्न सक्ने र साना उद्यमीले स्थानीय सीमाभन्दा बाहिरका बजारमा पहुँच बनाउन सक्ने अवस्था सिर्जना भएको बताउनुभयो । सरकारले आगामी दिनमा डिजिटल पहुँचसँगै डिजिटल समावेशिता, साइबर सुरक्षा, विश्वसनीयता र विपद् प्रतिरोधी सञ्चार प्रणाली विकासमा ध्यान दिने सञ्चारमन्त्री तिमिल्सिनाले बताउनुभयो ।
