लुकाइछिपाइ राखेको ठूलो परिमाणको विदेशी मुद्रासहित तीन बंगलादेशी नागरिक पक्राउ
ललितपुर । ललितपुरमा ठूलो परिमाणमा विदेशी तथा नेपाली मुद्रा लुकाइछिपाइ राखेको आरोपमा तीन जना बंगलादेशी नागरिक पक्राउ परेका छन्। प्रहरीले ललितपुर महानगरपालिका–१४, जुपिटर मार्गस्थित कमलरग अपार्टमेन्टको दोस्रो तल्लाबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो।
गत १९ गते बेलुकी अपार्टमेन्टमा शंकास्पद गतिविधि भइरहेको सूचना पाएपछि प्रहरीले निगरानी बढाएको थियो। त्यसक्रममा खानतलासी गर्दा उनीहरूले अवैध रूपमा नेपाली तथा विदेशी मुद्रा सञ्चित गरी लुकाइछिपाइ राखेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेमा बंगलादेशको सिल्हेटस्थित उस्मानीनगर घर भई हाल कमलरग अपार्टमेन्टमा बस्दै आएका ३१ वर्षीय रमन मिया, बंगलादेश घर बताउने २७ वर्षीय तायेब हुसैन राजोम सिद्दा र ढाका, मिरपुर–१२१६ घर भएका २५ वर्षीय महादी हसन रहेका छन्।
प्रहरीका अनुसार उनीहरूको साथबाट १५ हजार ५ सय अमेरिकी डलर बरामद भएको छ। त्यस्तै, बंगलादेशी ३८ हजार ४ सय ५० टाका र नेपाली ३ लाख १५ हजार रुपैयाँ समेत बरामद गरिएको छ।
खानतलासीका क्रममा विभिन्न व्यक्तिका नाममा जारी भएका सात थान पासपोर्ट समेत फेला परेका छन्। महादी हसनको एक, ताजुल इस्लामको दुई, नाजमिन बेगमको एक तथा रुमन मियाको नाममा तीन थान पासपोर्ट बरामद भएको प्रहरीले जनाएको छ।
त्यसैगरी उनीहरूको साथबाट Samsung, Tecno, iPhone र Oppo कम्पनीका मोबाइल फोनसमेत बरामद भएका छन्।
ठूलो परिमाणमा विदेशी मुद्रा, विभिन्न व्यक्तिका पासपोर्ट तथा मोबाइल फोन एकै स्थानबाट बरामद भएपछि घटनालाई प्रहरीले शंकास्पद वित्तीय कारोबारसँग जोडेर अनुसन्धान अघि बढाएको छ।
पक्राउ परेका तीनै जनालाई बरामद मुद्रासहित थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि सम्पत्ति शुद्धीकरण विभाग, ललितपुर पठाइएको प्रहरीले जनाएको छ। घटनामा उनीहरूको मुद्रा संकलनको उद्देश्य, स्रोत तथा सम्भावित अन्तरदेशीय कारोबारबारे अनुसन्धान हुने बताइएको छ।
