डोको बुन्दै, सीप सिकाउँदै
भोजपुर, २३ असोजः भोजपुर नगरपालिका–५ का किसान कृतिमान विष्ट परम्परागत डोको बुन्ने पेसाको संरक्षणमा जुट्नुभएको छ । खेतीपातीको कामबाट बचेको समय सदुपयोग गर्दै उहाँले पुस्तौँदेखि चलिआएको बाँसको चोयाबाट डोको बुन्ने सीपलाई निरन्तरता दिँदै आउनुभएको छ ।
गाउँघरमा कृषि तथा घरायसी काममा प्रयोग हुने डोको पछिल्लो समय बजारमा पाइने आधुनिक सामग्रीका कारण निकै कम मात्रामा प्रयोग हुन थालेको छ । ग्रामीण क्षेत्रमा यसको आवश्यकता भने अझै रहेको स्थानीयवासीको भनाइ छ । ग्रामीण आवश्यकतालाई ध्यानमा राख्दै विष्टले स्थानीयस्तरमै पाइने बाँसको प्रयोग गरेर विभिन्न आकारमा डोको तयार पार्दै आउनुभएको छ ।
चोया तयार गर्ने, चोयालाई आवश्यक आकारमा मिलाउने र हातैले बुनेर डोको तयार गर्ने उहाँको नियमित काम हो । उहाँका अनुसार आकारका आधारमा एउटा डोको रु ३०० देखि ७०० सम्ममा बिक्री हुने गरेको छ । ठूलो आकारको डोको बनाउन पाँचदेखि छ घण्टासम्म समय लाग्ने उहाँले जानकारी दिनुभयो । “आफ्नै गाउँमा पाइने बाँसबाट चोया तयार गरेर डोको बुनिन्छ । फुर्सदको समयमा बुन्दा सीप पनि जोगिन्छ भने केही आम्दानी हुन्छ”, विष्टले भन्नुभयो ।
कृषि कार्यमा प्रयोग हुने डोको, नाङ्लो, डालोलगायतका सामग्री ग्रामीण जीवनका अपरिहार्य साधन हुन् । खेतबारीबाट उत्पादित मकै, धान, कोदो, आलुलगायतका कृषि उपज ओसारपसार गर्न तथा घाँस, दाउरा र घरायसी सामान बोक्न डोको प्रयोग हुने गरेको छ । स्थानीयस्तरमा सहजै पाइने बाँसको उपयोग गरी तयार गरिने यस्ता सामग्री वातावरणमैत्री हुनुका साथै स्थानीय सीप र स्रोतसाधनको उपयोगको उदाहरण बनेको छ ।
पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको डोका बुन्ने सीप पछिल्लो पुस्तामा हस्तान्तरण हुन नसक्दा हराउँदै जाने अवस्था रहेकाले आफूले जानेको सीपलाई निरन्तरता दिएको उहाँले बताउनुभयो । नयाँ पुस्ताले सीप सिकेर व्यावसायिक रूपमा अघि बढ्न सके यसलाई आम्दानीको महत्त्वपूर्ण स्रोत बनाउन सकिने उहाँको भनाइ छ ।
