Thursday 8th of October | २०८३ असोज २२ बिहीबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

विराटनगर किंग्सको प्रशिक्षकमा धम्मिका प्रसादको निरन्तरता

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज २२ बिहीबार |

नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि विराटनगर किंग्सले धम्मिका प्रसादलाई पुनः प्रशिक्षकमा निरन्तरता दिएको छ । यससँगै प्रसादले आगामी सिजनमा पनि विराटनगर किंग्सको प्रशिक्षण तथा रणनीतिक नेतृत्व सम्हाल्ने छन् ।

श्रीलंकाका पूर्व अन्तर्राष्ट्रिय क्रिकेटर धम्मिका प्रसादले आफ्नो खेलाडी जीवनमा श्रीलंकाको राष्ट्रिय टोलीबाट टेस्ट, एकदिवसीय र टी–२० अन्तर्राष्ट्रिय क्रिकेट खेलेका छन्। दायाँ हाते फास्ट बलर प्रसादले श्रीलंकाका लागि २५ टेस्ट, २४ ओडीआई र १४ टी–२० अन्तर्राष्ट्रिय खेल खेलेका छन्।

प्रशिक्षकका रूपमा धम्मिका प्रसादले विभिन्न अन्तर्राष्ट्रिय टोलीसँग काम गरिसकेका छन्। उनले अमेरिका राष्ट्रिय क्रिकेट टोलीमा सहायक तथा बलिङ प्रशिक्षकका रूपमा काम गर्नुका साथै नेपाल र ओमान राष्ट्रिय क्रिकेट टोलीको पूर्व बलिङ प्रशिक्षकको जिम्मेवारीसमेत सम्हालिसकेका छन्।

फ्रेन्चाइज क्रिकेटमा प्रसादले लङ्का प्रिमियर लिग मा कोलम्बो किंग्सका बलिङ प्रशिक्षक, क्यान्डी बोल्ट्सका प्रशिक्षण निर्देशक तथा क्यान्डी रोयल्सका सहायक  प्रशिक्षक का रूपमा काम गरिसकेका छन्। त्यस्तै उन्ले केम्यान आईल्याण्ड म्याच ६० मा फ्लोरिडा लायन्स तथा बिग क्रीकेट लिग मा गुजरात डायमण्ड्सको प्रशिक्षकको जिम्मेवारी पनि सम्हालिसकेका छन्।

विराटनगर किंग्सले प्रसादको अन्तर्राष्ट्रिय अनुभव, विशेषगरी बलिङ प्रशिक्षण, खेलाडी विकास र टोली व्यवस्थापनमा रहेको विशेषज्ञतालाई एनपीएलको तेस्रो संस्करणमा महत्वपूर्ण मान्दै उनलाई निरन्तरता दिएको हो।
विराटनगर किंग्समा पुनः जिम्मेवारी पाउँदा धम्मिका प्रसादले खुशी व्यक्त गरेका छन्। उनले विराटनगर किंग्ससँग  फेरि पनि  काम गर्न पाउँदा आफू उत्साहित रहेको बताए।

“विराटनगर किंग्ससँग यो सिजन पनि जोडिन पाउँदा म निकै खुसी र उत्साहित छु। गत सिजन हामी प्लेअफबाट बाहिरिनुपर्दा त्यो क्षण निकै पीडादायी र निराशाजनक थियो। हामीले धेरै मेहनत गरेका थियौँ, तर अपेक्षित नतिजा हासिल गर्न सकेनौँ। त्यसको पीडा हामी सबैसँग अझै छ। यही अनुभवले यसपटक हामीलाई अझ बलियो र प्रतिबद्ध बनाएको छ। यसपटक हामी आफ्नो शतप्रतिशत दिनेछौँ र ट्रफीका लागि अन्तिम बलसम्म लड्नेछौँ,“प्रसादले भने।

एनपीएल सिजन–३ को तयारीअन्तर्गत विराटनगर किंग्स हाल भारतको उत्तर प्रदेशस्थित पूर्वाञ्चल क्रिकेट एकेडेमीमा प्रशिक्षणमा रहेको छ। टोलीले त्यहाँ रणजी ट्रफीमा खेलिसकेका भारतीय खेलाडीहरूसँग फ्लडलाइटमा अभ्यास खेल खेलिरहेको छ। प्रसादले भारतमा भइरहेको प्रशिक्षण राम्रो ढंगले अघि बढिरहेको बताएका छन्।

“भारतमा हाम्रो प्रशिक्षण राम्रो भइरहेको छ। खेलाडीहरूले राम्रो प्रशिक्षण पाइरहेका छन्। रणजी ट्रफीमा खेलिसकेका अनुभवी खेलाडीहरूसँग अभ्यास खेल खेल्दा हाम्रो तयारी अझ बलियो भइरहेको छ। एनपीएलका लागि हामी उत्कृष्ट तयारी गर्ने लक्ष्यमा छौँ,” प्रसादले भने।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan