अवैध लागूऔषध सहित विभिन्न स्थानबाट २१ जना पक्राउ
काठमाडौं, २३ असोज : काठमाडौं, तारकेश्वर नगरपालिका-८ बाट अवैध लागूऔषध खैरो हेरोइन ३२ ग्राम ५ सय मिलिग्राम र नगद ३० हजार रूपैयाँ सहित ४ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा रसुवा नौकुण्ड गाउँपालिका-४ घर भएका ३३ वर्षीय अमृत बराल, ३४ वर्षीय सुजन विश्वधकर्मा, नुवाकोट तादी गाउँपालिका-१ घर भएका ३६ वर्षीय बसन्त ढकाल र विदुर नगरपालिका-८ घर भएका २३ वर्षीय सन्दिप कालिकोटे रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
सुनसरी, कोशी गाउँपालिका-१ भन्सार टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ सय २० मिलिग्राम सहित दुहवी नगरपालिका-५ बस्ने ३१ वर्षीय शिशिर कुवरलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी सुनसरी, बराहक्षेत्र नगरपालिका-३ नहाडा चोकबाट नियन्त्रित लागूऔषध डाईक्लोमाइन १ हजार ३ सय ९० ट्याब्लेट र ट्रामाडोल १ हजार ३ सय ९० ट्याब्लेट सहित उदयपुर चौदण्डीगढी नगरपालिका-३ बस्ने ३० वर्षीय अनुश मगरलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय महेन्द्रनगर समेतबाट खटिएको प्रहरीले कान्छी चोकबाट उदयपुरतर्फ जाँदै गरेको प्रदेश ३-०२-००३ प २५९३ नम्बरको मोटरसाइकललाई जाँच गर्न खोज्दा मोटरसाइकल छाडी चालक फरार भएपश्चात मोटरसाइकलमा सवार अनुशलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । प्रहरीले हाल फरार मोटरसाइकल चालकको खोजी गरिरहेको छ ।
ललितपुर, ललितपुर महानगरपालिका-२८ हरिसिद्धि तफाखल पार्कबाट नियन्त्रित लागूऔषध नाइट्राजेपाम ५० ट्याब्लेट सहित सोही महानगरपालिका-२८ हरिसिद्धि बस्ने रामेछाप लिखु तामाकोशी गाउँपालिका-१ घर भएका २१ वर्षीय आयुष सुनुवारलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग हरिसिद्धीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
उदयपुर, बेलका नगरपालिका-१ आम्बासीबाट अवैध लागूऔषध गाँजा ५ किलोग्राम सहित सुनसरी धरान उपमहानगरपालिका-२० बिष्णुपादुका बस्ने २९ वर्षीय बिशाल राईलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
अस्थायी प्रहरी चौकी आम्बासीबाट खटिएको प्रहरीले बसाहाबाट फत्तेपुरतर्फ जाँदै गरेको प्र.१-०२-०४३ प ७०४२ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।
दाङ, तुलसीपुर उपमहानगरपालिका-५ रानीजरूवाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ८० मिलिग्राम सहित सोही उपमहानगरपालिका-५ प्रगतिशील टोल बस्ने २७ वर्षीय प्रकाश वलीलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
नवलपरासी पूर्व, देवचुली नगरपालिका-१६ टागिकोट डेरा गरी बस्ने बुलिङटार गाउँपालिका-१ घर भएका २१ वर्षीय पूर्ण बहादुर मापछन समेत २ जनालाई नियन्त्रित लागूऔषध ट्रामाडोल ३० ट्याब्लेट, भोमाइन ३० ट्याब्लेट र ऐनारगन ४५ ट्याब्लेट सहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रजहबरबाट खटिएको प्रहरीले पूर्ण बहादुरको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।
झापा, दमक नगरपालिका-७ डुमटोल बस्ने २९ वर्षीय आशिष कुमार तामाङ समेत ४ जनालाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ८ सय ४० मिलिग्राम र नियन्त्रित लागूऔषध ट्रामाडोल २७ ट्याब्लेट सहित बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले आशिषको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।
मोरङ, कानेपोखरी गाउँपालिका-६ बरगाछी चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम २ सय ८० मिलिग्राम सहित सोही गाउँपालिका-७ डेरा गरी बस्ने भोजपुर षडानन्द नगरपालिका-७ घर भएका २५ वर्षीय सुर्य दर्जीलाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।
अस्थायी प्रहरी चौकी कानेपोखरीबाट खटिएको प्रहरीले रमाइलोबाट कानेपोखरीतर्फ साइकलमा आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
भक्तपुर, मध्यपुर थिमि नगरपालिका-१ लोकन्थलीबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ हजार ६ सय १० ट्याब्लेट, नाईट्राभेट २६ ट्याब्लेट र नगद ६७ हजार ४ सय रूपैयाँ सहित ललितपुर महालक्ष्मी नगरपालिका-२ बस्ने ३८ वर्षीय सुरज बानियालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
बाँके, डुडुवा गाउँपालिका-१ पिपरहवाबाट अवैध लागूऔषध गाँजा करिब १० किलोग्राम सहित सोही ठाउँ बस्ने ४० वर्षीय राम नरेश कुर्मीलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी खडैचाबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।
कास्की, पोखरा महानगरपालिका-९ महेन्द्रपुल बस्ने नुवाकोट पञ्चकन्या गाउँपालिका-२ घर भएका २२ वर्षीय शुसिल रोक्कालाई नियन्त्रित लागूऔषध टापेन्टाडोल ३ सय १० ट्याबलेट सहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो ।
कैलाली, टीकापुर नगरपालिका-१ बनगाउँबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ६ सय ४० मिलिग्राम सहित सोही ठाउँ बस्ने २१ वर्षीय बिबश चौधरी समेत २ जनालाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
