७१औँ प्रहरी दिवसः विभिन्न व्यक्ति तथा संस्था सम्मानित
वीरगन्ज (पर्सा), ३० असोज : जिल्ला प्रहरी कार्यालय पर्साले शान्ति, सुरक्षा कायम गर्न, अपराध नियन्त्रण गर्न तथा प्रहरी–नागरिक सम्बन्ध सुदृढ बनाउन योगदान पुर्याउने विभिन्न व्यक्ति तथा संस्थालाई सम्मान गरेको छ ।
नेपाल प्रहरीको ७१औँ प्रहरी दिवसका अवसरमा आज यहाँ आयोजित विशेष समारोहमा कार्यालयले सामुदायिक सेवा केन्द्र मुर्लीका अध्यक्ष राम सर्राफलाई समान गरेको छ ।
त्यसैगरी जिल्लाको शान्ति, सुरक्षा कायम गर्न योगदान पुर्याउने प्रभु अस्पतालका म्यानेजिङ डाइरेक्टर डा मनोजकुमार गुप्ता, किरण आँखा अस्पतालका प्रमुख डा अमर क्याल, युवा उद्यमी तथा समाजसेवी निखिल वर्णवाल, दीपक साह कानु, हरेराम सिंह राजपुत, मनिषकुमार सिंह राजपुत र सजन अग्रवाललगायत ४० जना व्यक्ति र संस्थालाई सम्मान गरिएको छ ।
सोही अवसरमा पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले जिल्लामा शान्ति, सुरक्षा कायम गर्न स्थानीय निकाय वा आमनागरिकको नै मुख्य भूमिका हुनेमा जोड दिनुभयो ।
सोही अवसरमा जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख तथा प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले शान्ति, सुरक्षा कायम राख्न, अपराध नियन्त्रण गर्न र प्रहरी तथा नागरिकबीचको सम्बन्धलाई थप प्रगाढ बनाउन स्थानीय समुदाय, उद्योगी–व्यवसायी र सञ्चार क्षेत्रले खेलेको भूमिकाको उच्च प्रशंसा गर्नुभयो ।

