सरकारले अब सबै सुकुम्बासीलाई लालपूर्जा दिन्छ, आश्वासन होइन : मन्त्री रावल
झापा, १६ कात्तिक : भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले वर्तमान सरकारले सुकुम्बासी समस्या सधैँका लागि समाधान गर्दै लालपूर्जा वितरणको तयारी गरिरहेको बताउनुभएको छ । कनकाई नगरपालिकाका सुकुम्बासी तथा अव्यवस्थित बसोबासीसँग आज सुरुङ्गामा प्रत्यक्ष भेटेर उहाँले त्यस्तो प्रतिबद्धता व्यक्त गर्नुभएको हो ।
“तपाईंहरूलाई जो आउँछन् आश्वासन मात्र दिएर जान्छन् भन्ने लागेको हुनसक्छ”, सुकुम्बासी परिवारलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “यहाँहरू ढुक्क हुनुहोस् । यो सरकारले लालपूर्जा दिने हो, आश्वासन होइन ।”
प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेल र कनकाई नगरपालिकाका नगरप्रमुख राजेन्द्र पोखरेललाई साक्षी राखेर कनकाई नगर क्षेत्रका सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई अबको केही समयमै जग्गाको लालपूर्जा वितरण गरिने उहाँले विश्वास दिलाउनुभयो । मन्त्री रावलले भन्नुभयो, “काम अगाडि बढिसकेको छ । कामलाई अझ तीब्रता कसरी दिन सकिन्छ भनेर छलफल भएको छ । यो भएन, त्यो भएन भन्ने अब बहानाबाजी हुनेछैन ।”
कनकाई नगरपालिका–६ का वडाध्यक्ष लक्ष्मी ओलीले यहाँका ५०० परिवार विसं २०१९ देखि बसोबास गर्दै आए पनि अहिलेसम्म जग्गाको लालपूर्जा नपाएको जानकारी गराउनुभयो ।
मन्त्री रावलले आजै जिल्लाका १५ वटै पालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई जिल्ला प्रशासन कार्यलयमा भेटेर सुकुम्बासीलाई लालपूर्जा वितरणका लागि तीब्र गतिमा काम गर्न निर्देशन दिनुभयो । उहाँले दमक नगरपालिका–८ का भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई भेटेर उहाँहरूको गुनासो सुन्नु भएको थियो । उहाँले दमकमा सहकारी पीडितसँग छुट्टै भेटेर बचत फिर्ता गराउने प्रतिबद्धता जनाउनुभयो ।

