जापानमा खाद्य र ऊर्जा मूल्यमा उतारचढाव, मुद्रास्फीति २.२ प्रतिशत
जापानमा अक्टोबर महिनामा मुख्य उपभोक्ता मूल्य सूचकांक (कोर सीपीआई) अघिल्लो वर्षको सोही अवधिको तुलनामा २.२ प्रतिशतले वृद्धि भएको छ।
सरकारी तथ्याङ्कअनुसार मूल्यवृद्धि बैंक अफ जापानले निर्धारण गरेको दुई प्रतिशतको लक्ष्यभन्दा माथि कायम रहेको हो।
ताजा खाद्यवस्तुको मूल्यलाई समावेश नगर्ने राष्ट्रिय उपभोक्ता मूल्य सूचकांक सेप्टेम्बरमा २.१ प्रतिशतले बढेकोमा अक्टोबरमा २.२ प्रतिशत पुगेको छ। यससँगै लगातार दोस्रो महिना जापानको मुद्रास्फीति केन्द्रीय बैंकको लक्ष्यभन्दा माथि रहेको छ।
त्यस्तै, ताजा खाद्यवस्तु र ऊर्जाको मूल्य दुवैलाई हटाएर गणना गरिने कोर–कोर सीपीआई पनि अक्टोबरमा वार्षिक आधारमा २.२ प्रतिशतले बढेको आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले जनाएको छ।
सरकारी अनुदान घटाइएपछि तथा विद्युत् तथा ग्यास सेवा प्रदायकहरूले महसुल बढाएपछि ऊर्जा मूल्यमा पनि वृद्धि देखिएको छ। अक्टोबरमा ऊर्जा मूल्य २.२ प्रतिशतले बढेको छ, जबकि सेप्टेम्बरमा यसमा ०.६ प्रतिशतले गिरावट आएको थियो।
ऊर्जाअन्तर्गत सहरमा प्रयोग हुने ग्यासको मूल्य ५.३ प्रतिशत र विद्युत् महसुल १.६ प्रतिशतले बढेको छ। यद्यपि, पेट्रोलको मूल्य भने २.३ प्रतिशतले घटेको छ।
यसैबीच, ताजा खाद्यवस्तुबाहेक अन्य खाद्यवस्तुको मूल्यवृद्धि अक्टोबरमा २.२ प्रतिशत रहेको छ। सेप्टेम्बरमा यस्तो वृद्धि २.९ प्रतिशत थियो।


