Saturday 21st of November | २०८३ मङ्सिर ५ शनिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

धनकुटामा खानेपानी प्रशोधन प्रणाली सञ्चालनको तयारी

न्यूजअभियान | प्रकाशित मिति : २०८३ मङ्सिर ४ शुक्रबार | (रासस)

धनकुटा, ४ मङ्सिरः वर्षायाममा खोलाको पानी धमिलो भएर धारामा आउने समस्याबाट धनकुटा बजारवासीले अब राहत पाउने भएका छन् । खानेपानी शुद्धीकरणका लागि धनकुटा बजारको स्कुलडाँडा र सल्लेरीमा निर्माण भइरहेका दुई ठूला प्रशोधन प्रणाली (ट्रिटमेन्ट प्लान्ट) सञ्चालनको तयारी अन्तिम चरणमा पुगेको छ । 

    सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन कार्यालयले निर्माण गरिरहेका दुवै प्रशोधन प्रणाली सञ्चालनमा आएपछि वर्षायाममा धमिलो पानी आउने समस्यामा कमी आउने र उपभोक्ताले प्रशोधित खानेपानी पाउने कार्यालयले जनाएको छ । 
    
    कुल रु एक करोड २० लाखको लागतमा निर्माण भइरहेका यी दुई प्रशोधन प्रणालीबाट प्रतिसेकेन्ड २० लिटर पानी प्रशोधन गर्न सकिने छ । आयोजना सञ्चालनमा आएपछि धनकुटा नगरपालिका–३, ४ र ६ का करिब एक हजार १०० परिवार प्रत्यक्ष लाभान्वित हुने सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन कार्यालयका प्रमुख हेराकाजी महर्जनले जानकारी दिनुभयो । उहाँको अनुसार दुवै प्रशोधन प्रणालीको निर्माणकार्य अन्तिम चरणमा पुगेको छ । 

    “दुवै प्रशोधन प्रणालीको निर्माणकार्य अन्तिम चरणमा पुगेको छ”, प्रमुख महर्जनले भन्नुभयो, “यी प्रणाली सञ्चालनमा आएपछि तीनवटा वडाका एक हजार १०० परिवारका लागि प्रशोधित खानेपानी उपलब्ध हुनेछ ।” यसअघि निर्माण गरिएका साना क्षमताका खानेपानी शुद्धीकरण प्रणाली पुराना हुँदै गएपछि नयाँ प्रशोधन पूर्वाधार निर्माण थालिएको उहाँले बताउनुभयो ।

    प्रमुख महर्जनका अनुसार विशेषगरी वर्षायाममा पानी धमिलो आउने समस्यालाई समेत ध्यानमा राखेर प्रशोधन क्षमता बढाउन नयाँ प्रणाली निर्माण गरिएको हो । दिगो विकास लक्ष्यअनुसार सन् २०३० सम्म हरेक घरमा स्वच्छ खानेपानी पु¥याउने उद्देश्यले खानेपानीका पूर्वाधार सुधार तथा विस्तारको काम भइरहेको उहाँको भनाइ छ ।

    धनकुटा सदरमुकाममा धनकुटा नगर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिमार्फत खानेपानी आपूर्ति हुँदै आएको छ । समितिले बजार क्षेत्रका करिब चार हजार उपभोक्तालाई खानेपानी वितरण गर्दै आएको छ । 

    नयाँ प्रशोधन प्रणाली सञ्चालनमा आएपछि धनकुटा बजारको खानेपानी शुद्धीकरण क्षमता बढ्नुका साथै वर्षायाममा धमिलो पानी आउने समस्यासमेत न्यूनीकरण हुने खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका सचिव अर्जुन छाराहाङले बताउनुभयो । यसबाट स्थानीय बासिन्दाले स्वच्छ र सुरक्षित खानेपानी उपभोग गर्न पाउने विश्वास गरिएको उहाँको भनाइ छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan