Saturday 21st of November | २०८३ मङ्सिर ५ शनिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

प्राचीन मेडरी नाच लोप हुने अवस्थामा

न्यूजअभियान | प्रकाशित मिति : २०८३ मङ्सिर ४ शुक्रबार | (रासस)

नवलपुर (नवलपरासी), ४ मङ्सिर: थारू समुदायले प्राचीन कथामा आधारित भएर नाच्ने मेडरी (माहाभारत) नाचप्रति युवापुस्ताले चासो नदिँदा लोप हुने अवस्थामा पुगेको छ । द्वापर युगको महाभारतका मुख्यपात्र कौरव र पाँच पाण्डवको कथामा आधारित भएर नवलपरासी (बर्दघाट-सुस्तापूर्व)का थारू समुदायले मात्र नाच्ने मेडरी नाच हराउँदै जान लागेको हो । 

    जिल्लाको मध्यविन्दु-३ लेढाहाका थारू अगुवा तिलकराम थनेतले एक सय भाइ कौरव तथा पाँच पाण्डवको जन्मदेखि लिएर कुरुक्षेत्रको युद्धसम्मको कथा मेडरी नाचमा प्रस्तुत गरिने बताउनुभयो । मेडरी नाच्नु अगाडि धाँजो (बाँसका दुई वटा लिङ्गो) गाडेर पूजा गर्ने चलन रहेको उहाँले जानकारी दिनुभयो । “धाजो हाल्दा बाँसको ठूलो र सानो लिङ्गो गाडिन्छ”, उहाँले भन्नुभयो, “तीमध्ये बाँसको ठूलो लिङ्गोलाई मर्दाना (पुरुष) र सानो लिङ्गोलाई जनियानी (महिला)को प्रतीकका रूपमा गाडिएको हुन्छ ।” 

    अहिलेका थारू युवाले मेडरी नाच सिक्न नचाहँदा परम्परा पुस्तान्तरण हुन नसकी लोप हुने अवस्थामा पुगेको उहाँले गुनासो गर्नुभयो । “युवापुस्ता आधुनिक गीतसङ्गीतमा रमाउन थाले । हामी बूढाहरूले मात्रै मेडरी नाच्नुपर्ने अवस्था आयो”, ७५ वर्षीय थनेतले भन्नुभयो, “यो नाच हाम्रो मौलिक संस्कृति र मूल्यमान्यता भएकाले हामीले निरन्तरता दिँदै आएका छौँ । युवाले कला, संस्कृति सिकालेमा पुतान्तरण हुनुका साथै मौलिकाको संरक्षण र प्रवर्द्धन हुने थियो ।”

    मेडरीमा माहाभारतको सबै कथा भनेर नाच्ने गरिएको जनाउँदै थनेतले एकै ठाउँमा सबै गीत गाउन नसकिए पनि खण्डखण्डमा गाउने चलन रहेको बताउनुभयो । “हामीले नाच सुरु गर्नुअगाडि भाकल गरेर सुरु गर्छौँ । नाच्नुभन्दा अगाडि धाजो (खाँबो) गाडेर त्यसको पूजा गरेपछि मात्रै नाच सुरु गरिन्छ”, उहाँले भन्नुभयो । धाजो गाडेर मेडरी नाच ननाचेमा अशुभ हुने भएकाले आफूहरू बिहान उठेर नुहाइधुहाइ गरी पूजा गरेपछि मात्रै नाच्ने गरेको उहाँको भनाइ छ । 

    “पहिले गुरौँ (थारू समुदायको पुरोहित)ले पूजा गरेपछि नबोल्ने साना बालबालिकालाई पूजा गर्ने थानमा लगेर ‘यो नाच छोड्न मिल्छ कि मिल्दैन ?’ भनेर सोध्दा उनीहरूमा देउता प्रवेश गरेर ‘छोड्न मिल्दैन छोड्यो भने अनिष्ट हुन्छ’ भनेपछि हामीले निरन्तरता दिँदै आएका छौँ”, थनेतले भन्नुभयो, “ज्येष्ठ पुस्ताले मौलिकतालाई निरन्तरता दिँदै यहाँसम्म ल्याएका छौँ । यो प्राचीन संस्कृति अब हाम्रो पालापछि अगाडि बढ्दैन कि भन्ने चिन्ता लागेको छ ।” 

    पञ्चायती शासनको पालामा राजा महेन्द्रले यो नाच हेर्ने इच्छा जनाएपछि नवलपुरका थारूहरू पोखरा गएर राजालाई मेडरी नाच देखाएका थनेतले जानकारी दिनुभयो । “त्यसपछि राजा वीरेन्द्रको निमन्त्रणामा हामी बुटवलमा पुगेर पनि नाच देखाएका थियौँ”, उहाँले भन्नुभयो, “अहिलेका धेरै नेताले हाम्रो नाच देखेका छन्, यसको संरक्षण, प्रवर्द्धन र पुस्तान्तरणमा सरोकार भएका निकाय र युवापुस्ता लाग्नुपर्छ ।”

    आश्विन शुक्ल प्रतिपदादेखि कार्तिक शुक्ल एकादशीसम्म मेडरी नाच्ने गरिएको भन्दै थनेतले एकादशीको दिन पाण्डवहरूलाई सबै कुरा भनेर त्यस वर्षका लागि नाच सक्ने विधि रहेको जानकारी दिनुभयो । सोहीअनुसार आज एकादशीका दिन यस वर्षको नाच सम्पन्न गरिएको उहाँको भनाइ छ ।

    कावासोती–१७ का टीकाराम गुरौँले कुनै संस्था वा समुदायले मेडरी नाचका लागि निमन्त्रणा गरेपछि जाने गरिएको बताउनुभयो । “यो नाच विधि पुर्‍याएर नाच्नका लागि निकै कठिन छ, त्यसैले यसप्रति युवापुस्ताले खासै चासो दिएका छैनन्”, उहाँले भन्नुभयो, “उनीहरू हिन्दी तथा आधुनिक गीतसङ्गीतमा केन्द्रित हुँदा मौलिकता हराउने चिन्ता बढेको छ ।” मेडरीका बारेमा पूरै कथा समेटिनेगरी भिडियो (श्रव्यदृश्य) सामग्री निर्माण गरेर राख्दा पछिल्ला पुस्ता यो नाचप्रति आकर्षित हुनसक्ने उहाँको भनाइ छ । 

    “अहिलेका युवाले माहाभारको अर्थ बुझ्दैनन् । द्वापर युगमा भएको घटनाबारे चासो दिँदैनन्”, गुरौँले भन्नुभयो, “पाण्डव र कौरवको जन्म, उनीहरूबीच राजकाजका लागि भएको विवाद, लडाइँसहितका सबै घटनाक्रमलाई मेडरी नाचमा प्रस्तुत गरिन्छ ।” नयाँ पुस्तालाई आफ्नो कला र संस्कृतिको संरक्षण गर्न भनिए पनि उनीहरूले वास्ता नगरेकामा उहाँले गुनासो गर्नुभयो । “हाम्रो संस्कार संस्कृति संरक्षण गर्न हामी नै अघि बढ्नुपर्छ”, उहाँले भन्नुभयो, “संस्कृति हरायो भने हाम्रो अस्तित्व पनि हराउन सक्छ, यसतर्फ युवालाई जागरुक बनाउन राज्यले पनि भूमिका खेल्नुपर्छ ।” 

    गाउँभरिका मानिस भेला भएर माहाभारतको कथालाई गीतमार्फत गाउँदै धाजो (पूजा गरेर गाडिएको खाँबो)लाई घुमेर यो नाच नाचिने गुरौँको भनाइ छ । माहाभारत युद्वमा प्रयोग भएको अर्जुनको घोडा, तरबार, भाला, गदालगायत काठबाट बनेका सामग्री लिएर मेडरी नाच्ने प्रचलन रहेको उहाँले जानकारी दिनुभयो । 

    “यो नाच हामीले कार्तिकको ठूलो एकादशीमा समापन गर्छौँ”, गुरौँले भन्नुभयो, “एकादशीमा नाचेपछि हामीले पञ्चपाण्डवलाई तिमीहरूको कथामा आधारित नाटक हामीले गर्यौँ, आजदेखि तिमीहरूलाई हामीले यही थानमा स्थिर राख्छौँ भनेर अर्को वर्षसम्मका लागि जिम्मा लगाएर बस्छौँ ।” उहाँका अनुसार यस वर्षका लागि नाच आज सम्पन्न भएको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan